समय-सम्वाद

आयो हावासँग लहरिँदै रोग संहारकारी
आयो लाखौँ शव मनुजका कातमा खात हारी
कोरोना भय अब सबै विश्वमा फैलिएको
धर्ती बोलिन् बुझ प्रकृतिको रूप हो मैलिएको ।

छाया पर्खीकन कति रुँदै फर्किए हात रित्तै
दायाँबायाँ चलमल गरे निल्छ हैँजा सिनित्तै
माया बोकी कुसुम अब यो आँगनीमा नआऊ
चौतारीमै बस लय भरी प्रीतको गीत गाऊ ।

आऊन् हाम्रा दिन सुख लिई कामना यत्ति हाम्रो
हत्केलाजो मयल खजना, स्वास्थ-सम्पति राम्रो साक्षी
बन्दछन् सुखदुख सबै जिन्दगानी रहेमा
बन्ला ऐना स्मृति भुवनमा मृत्यु साक्षी भएमा ।

रोइन् धर्ती प्रकृतिसँग, अन् ज्ञान-विज्ञान भन्दै
मान्छे स्वार्थी हुन अझ कुद्यो प्राप्तिका अङ्क गन्दै
मान्छे ढल्दा मदवश, सदाचार, सौजन्य रोयो
साँच्चै हाम्रो अतिशय दुराचारको दण्ड हो यो ।

गोरे साथी ! दिलभरी भए भाव-सद्धावनाको
सिक्दै जाऊ अब बरु नमस्कार नै वन्दना हो
कोरोनाका अघि किन भए व्यर्थ शस्त्रास्त्र तिम्रा
पृथ्वी बोलिन् मर, अब भयौ सम्पदाको दरिद्र ।

यात्रा रोके पनि समयनै आउँछन् घामजून
आगो दन्के पनि हृदयमा छाउँछन् आश-धून
बिसूँ चाँडै कहर अब यो विश्व होस् शान्त, स्वास्थ
“आफैँलाई नभुल दुनियाँ” भा”छ शिक्षा प्रशस्त ।

चाँडै आऊन् दिन सुखद, यो व्याधि निर्मूल होओस्
मान्छेलाई प्रकृति-कूतिका कीर्तिलर भित्र छोओस्
छोडून् मान्छे धनगत अहङ्कार, सद्धाव छाओस्
हाँसून् धर्ती शुभदिन फिरुन् विश्व यो मुस्कुराओस् ।

चाँडै आऊन् दिन सुखद, यो व्याधि निर्मूल होओस्
मान्छेलाई प्रकृति-कृतिका कीर्तिले भित्र छोओस्
छोडून् मान्छे धनगत अहङ्कार, सद्भाव छाओस्
हाँसून् धर्ती शुभदिन फिरून् विश्व यो मुस्कुराओस् ।

#कोरोनाको महाँमारीबाट सावधान रहौँ ।