यसकारण बाँके कारागारका ४४ महिला कैदीलाई पठाईयो जिल्ला बाहिर

नेपालगन्ज, बाँके कारागारमा रहेका ४४ महिला कैदीबन्दिलाई जिल्ला बाहिर स्थानान्तरण गरिएको छ । बाँकेमा कोरोना भाईरसको प्रभाव बढ्दै गएपछि नेपालगन्ज कारागारमा रहेका ४४ महिला कैदी बन्दीलाई अन्य जिल्ला सारीएको हो ।पछिल्लो समय कारागारमा संक्रमणको जोखिम बढेपछि १५ बन्दीलाई बर्दिया र २९ बन्दीलाई दैलेख पठाईएको नेपालगन्ज कारागारका जेलर देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । उनिहरुको साथमा २ जना बच्चा समेत रहेको श्रेष्ठले बताए ।

केही दिन पहिले मात्र कारागारमा रहेका केही सुरक्षाकर्मी तथा कैदी बन्दीलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएकाले कैदि बन्दी राख्ने ठाँउको अभाव भएपछि पिसिआर परिक्षण पश्चात संक्रमण नदेखीएका ४४ जना महिला कैदीबन्दिलाई बाह्य जिल्लाहरुमा स्थानान्तरण गरीएको बताइएको छ ।