पर्खाइको त्यो पल

लघुकथा

आमाले बुहारी हेर्न भनेपछि उ तोकिएकी केटि हेर्न गयो र हेर्यो पनि । रुपरंङ, आनिबानी सबै ठिक्क मिलेकी सरला, हरिबहादुर भन्दा एकबर्ष जति जेठी भएपनी उनको लुरे शारिरिक संरचना तथा ५ फुटभन्दा कमको उचाईका कारण उनिमा फिदा भएछ -हरिबहादुर ।

पहिलो दिनको भेटमा लगभग २ घन्टाभन्दा बढी कुराकानी भैइरहदा बिचमा फुत्त योग्यताको कुरा निस्कियो अर्थात शैक्षिक योग्यताको कुरा सरलाले आफुले अर्थशास्त्रमा स्नातक सकेर आयोगको तयारी गरिरहेको बताइन् । यसभन्दा अगाडी निर्धक्कका साथ कुरा गरिरहेको हरिबहादुर अब कुरा गर्दा अलिक हडबडाउन थाल्यो, यत्तिकैमा उनै अर्थशास्त्री सरलाले बडो घमण्ड मिश्रीत भावमा हरिबहादुरलाई सोधिन “आफू के गर्नुहुन्छ नि ?” हरिबहादुरले प्रश्नको जबाफमा आफ्नो शैक्षिक योग्यता कम भएको भावमा भन्यो “मेरो नि ब्याचलर नै हो, ब्याचलर रनिङ हो ।” यतिकैमा सरला फेरि प्रश्न गर्छिन के मा ?, कुनमा ?, कुन इएर मा ?, कहाँ ?, कुन कलेज/क्याम्पस मा ? आदी । यी सबै प्रश्नको उत्तर दिन हरिबहादुरलाई निकै सकस भैइरहेको थियो ।

तैपनि उ पहिलो प्रश्नको उत्तर दिने प्रयास स्वरुप ने…पाली मा भन्दै थियो । क्षणभरमै सरलाको मोबाइलमा फोन आएछ । उनी फोनमा ब्यस्त भैइन । सोही मौका छोपेर हरिबहादुरले भरे भेटौला सरला जि भन्दै बिदाइका लागि बा’ई भनेर हात हल्लायो र आफ्नो बाटो लाग्यो । साझको ६ बजिसकेको हुनाले उसले सरलाकै गाउँमा आफ्नो आफन्तको घरमा आश्रय लिने निर्णय गर्यो र भोलि बिहानै भालेको स्वरसंगै उठेर आफ्नो घर फर्कियो । घर पुगेपछि, घरमा आमाले सोध्दा सब कुरा ठिकै भएको बतायो । त्यसपछि आमा आसाबादी हुँदै जानू स्वभाविकै हो ।

दिन हुदै हप्ता र महिना बितिरहदा कहिलेकसो हरिबहादुर र सरलाको बिचमा फोनमा सामान्य कुराकानी हुन्थे ! फेरि पनि कुराकानीहरु शैक्षिक योग्यतामै केन्दृत हुन्थे । तर अचेल उनिहरुका बिचमा फोन मार्फत नै भएपनी कुराकानी नभएको करिब १ महिना र पहिलो पटक सरलाकै गाउँ नजिक को प्रेम बजारमा प्रत्यक्ष कुराकानी भएको डेढ महिना बितिसक्यो । अचेल उनिहरु बेखबर छन एकअर्काको बारेमा ।

अढाई महिनापछि सरलाकै गाउँबाट हरिबहादुरकी फुपुको घरबाट फोन आउँछ । फोनमार्फत सरलाको बिहे भएको खबर पाउछ, हरिबहादुरले । सरलाको बिहे सोही गाउँको चर्चित ब्यापारी श्यामलालको छोरा रामलालसंग मागीबिहे भएको रहेछ । रामलाल भर्खरै दक्षिण कोरियाबाट फर्केर गाउँ नजिकैको बिद्या मन्दिर निमाबिमा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा १४ दिन बिताएर आएको रहेछ ।

अनि सरला अर्थशास्त्रमा स्नातक सकेर लोकसेवाको तयारी गरिरहेकी निजामती उम्मेदवार । वाह ! तैपनि उनिहरुको बिचमा बिहे भएछ ! ठुला बडाहरुको पैसा, पावर र पहुँचमा निम्नबर्गियहरुको भावनाको कुनै मूल्य नहुदो रहेछ, यहि सोचेर हरिबहादुरले मन बुझाउन खोजिरह्यो तर मन बुझ्न सकेन । अतः सरलाको जिन्दगी रामलाल र उसको पैसाको साथमा चल्दै गयो, हरिबहादुरको जिन्दगी आसुमिश्रीत पिडा र रोदनमा गल्दै गयो । भरे भेटौला सरला जि भनेर हरिबहादुरले सरलालाई दिएको आश्वासन झुटो साबित भयो भयो । फलतः सपना अधुरै रह्यो ।