जनप्रतिनिधिकै संलग्नतामा नेता-कार्यकर्ता गिरफ्तार गरिएको भन्दै युवा संगठनको आपत्ति

रिहाइ नगरे गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनि

सुर्खेत, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले स्थानिय जनप्रतिनिधिले नै आफ्नो पार्टीका नेता-कार्यकर्ता र समर्थकहरुलाई प्रहरी-प्रशासन लगाएर गिरफ्तार गराएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार युवा संगठन नेपाल भेरी-कर्णाली ब्युरोको तर्फवाट इन्चार्ज दिपले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा प्रति गम्भिर आपत्ति जनाएक हुन् । साथै गिरफ्तार नेता-कार्यकर्तालाई रिहाइ नगरे यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनि समेत दिएका छन् ।

ब्युरो इन्चार्ज दिपद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’यहि मिति २०७७ श्रावण २४ गते जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ०६ मा पार्टीको संगठनात्मक कामको सिलसिलामा जनभेटघाट र छलफलमा हिंडिरहेको वेला उक्त वडाका कथित जनप्रतिनिधि भक्त बहादुर रोकायाले ३० जना गुण्डा प्रयोग गरि हाम्रो संगठनका जुम्ला जिल्ला अध्यक्ष क. नवीन, नेकपाका जिल्ला सचीव क. उदय र पार्टी समर्थक क. सपनालाई दुर्व्यवहार गरि दलाल सत्ताका प्रहरी प्रशासनलाई सुराकी गरि पक्राउ गराइएको र गरिएकोप्रति हाम्रो युवा संगठन नेपाल भेरी-कर्णाली ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै, विज्ञप्तिको अघाडी लेखिएको छ,’विश्व जगत र नेपाल कोरोना भाइरसको महामारीले आक्रान्त भईरहेको यस दु:खद समयमा पार्टी र संगठनले पनि सोही अनुसार आक्रामक गतिविधिलाई रोक्ने र कोरोना विरुद्धको लडाइँमा सरकारलाई अप्ठ्यारो नपार्ने निति अगाडि सार्यो । तर वर्तमान दलाल पुँजीवादी सत्ताले कोरोना विरुद्ध आफ्ना संयन्त्र प्रयोग गर्नुको साटो सम्पुर्ण संयन्त्र जनताको आवाजलाई बन्द गर्न र आफ्नो भ्रष्ट कर्तुत ढाकछोप गर्न प्रयोग गरिरहेको छ । तपाइँ हामीलाई अवगत भएको नै विषय हो, कि अहिलेको दलाल सत्ताका कथित स्थानीय जनप्रतिनिधिहरु सम्पुर्ण रुपमा भ्रष्टाचार र कमिसनमा लिप्त छन्, जुन स्थानीयतहमा भईरहेको भ्रष्टतन्त्र र कमिसनतन्त्र विरुद्ध हाम्रो पार्टी र संगठनले आफ्ना गतिविधि अघि बढाइरहेको छ । यहि जनगतिविधिलाई घनिभुत पारिरहँदा यहाँका स्थानीय दलालहरुको निद हराम भएकाले नै जुम्ला घटना हुन पुगेको हो, जसको हामी तिव्र घृणाका साथ घोर भत्सर्ना गर्दछौं ।’

विज्ञप्तिको अन्तामा लेखिएको छ, ‘गिरफ्तार गरिएका ३ जना कमरेडहरुलाई शिघ्र रिहाईको माग गर्दै, उहाँहरुलाई तत्काल रिहाई नगरिए जुम्ला जिल्ला तिला गाउँपालिका वडा नम्बर ०६ का कथित जनप्रतिनिधि भक्त बहादुर रोकाया र उनको गुण्डाहरुलाई समयक्रममा जनताले उनीहरुको शिर छेदन गर्ने छन् भन्ने चेतावनी सहित यो वक्तव्य प्रकाशीत गरिएको छ ।’

यस्तो छ विज्ञप्ति