मेडिकल माफिया बिरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले दियो चेतावनी

काठमाडौँ, चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा मेडिकल माफियाहरुको ज्यादती बढेको भन्दै कडा चेतावनि दिएको छ । मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै यसप्रकारको कार्यमा सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले सङ्र्ष समिति र चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी तथा काठमाडौँ विश्वविद्यालय परिवारका तर्फबाट विज्ञप्ति जारी गर्दै कोरोना महामारीको समयमा व्यापार–व्यवसाय गरिरहेका थुप्रै व्यवसायीहरूले पनि आफ्ना व्यावसायिक समूहहरूलाई भुक्तानी छुट दिइरहेको अवस्थामा मेडिकल कलेजका मालिकहरूलाई शिक्षाका नाममा विद्यार्थीलाई लेट फि भन्दै फेरि अर्को रकम नमाग्न चेतावनी पनि दिएका छन् ।

चन्द र भट्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस महामारीको विषम परिस्थितिमा पनि मेडिकल कलेजका माफियाहरूले अनावश्यक ढङ्गले विभिन्न शुल्कहरू (बेड शुल्क, ल्याब शुल्क, ओ.पी.डी. शुल्क) चरम रूपमा बढाएको तर अस्पतालमा कार्यरत कर्मचारीलाई कुनै सेवा, तलब, भत्तामा वृद्धि नगरेको साथै कोरोना सङ्क्रमित बिरामी अस्पतालमा आउँदा अन्य बिरामीको सङ्ख्या घट्ने र भनेजति पैसा कमाउन नपाउने भन्ने मनस्थितिले गर्दा कोरोना सङ्क्रमित बिरामीले केही मेडिकल कलेजमा मृत्युवरण गर्नुपरेको घटना हाम्रो अगाडि छ, मेडिकल कलेजको यस्तो अमानवीय र घृणित ब्यवहारप्रति राज्यको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । मेडिकल कलेजका मालिकहरूले यस्तो आर्थिक जटिल परिस्थितिमा विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्यप्रति हाम्रो सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ । प्रथमतः सबै विद्यार्थी, सङ्काय र वर्षका विद्यार्थीहरूको अतिरिक्त शुल्क समायोजन गरेको विषयलाई सूचना वा सम्झौतामार्फत जानकारी गराई चोरी गरेजसरी हैन, नैतिकतासहित विश्वविद्यालय वा डिनको कार्यालयले तोकेको आधिकारिक शुल्क बुझाउनका निम्ति अनुरोध गर्नका लागि अपिल गर्दछौँ ।’

त्यस्तै विज्ञप्तिको अगाडी लेखिएको छ, ‘व्यापार-व्यवसाय गरिरहेका थुप्रै व्यवसायीहरूले पनि आफ्ना व्यावसायिक समूहहरूलाई भुक्तानी छुट दिइरहेको अवस्थामा मेडिकल कलेजका मालिकहरूले शिक्षाका नाममा विद्यार्थीलाई लेट फिका नाममा फेरि अर्को रकम नमाग्न पनि चेतावनी दिन चाहन्छौँ । मेडिकल कलेजका मालिकहरूलाई चेतना होस्, विद्यार्थीमाथि हुने हरकिसिमका दमन, ज्यादतीका विरुद्ध हरकिसिमका सङ्घर्ष र जस्तोसुकै कदम उठाउन हाम्रो सङ्घर्ष समिति बाध्य हुनेछ ।’

यस्तो छ विज्ञप्ति