शनिबार गण्डकी प्रदेशमा थपिए २४ जना सङ्क्रमित

पर्वत , गण्डकी प्रदेशमा शनिबार ४ जिल्लाका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको कुल सङ्ख्या १६ सय ११ पुगेको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति मार्फत पछिल्लो २४ घण्टामा गरिएका ७ सय ८२ ओटा परीक्षणमा २४ जनामा संक्रमण रहेको पाइएको जानकारी दिएका छन्‌।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २९ वर्षीय पुरुष र पुतलीबजार नगरपालिकाका ९, ३०, ५१, ४०, ३९ र ११ वर्ष उमेरका ६ जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो। म्याग्दीको बेनी नगरपालिकाका २१ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिकाका ५५ र ५७ वर्ष उमेरका २ पुरुष र ४९ वर्षीया एक महिलामा पनि संक्रमणको पुष्टि भएको छ। यस्तै, बागलुङको ३०, २१, ३०, २२, ३३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्षका १३ जनामा संक्रमण रहेको पाइएको छ।

स्याङ्जाका संक्रमितहरू सोही जिल्लाका नागरिक भएको भए पनि बागलुङमा थपिएका १३ जना नै कामदारको महोत्तरीबाट आएकाहरू हुन्। यस्तै, पोखरा महानगरपालिका १७ र म्याग्दीको बेनी नगरपालिका ४ मा थपिएका व्यक्तिहरू भारतबाट आएकाहरू हुन्। पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा लैजाने तयारी भइरहेको पनि डा. शर्माले बताएका छन्‌।

पछिल्लो २४ घण्टामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गोरखाका ५०, तनहुँका ५१, लमजुङका ६८, स्याङ्जाका १८३, बागलुङका ६१, म्याग्दीका ५५ र कास्कीका ३१४ वटा स्वाब नमुना परीक्षण गरिएको थियो। गण्डकीमा कोरोना संक्रमण निको हुनेहरूको सङ्ख्या १४ सय ४३ पुगेको छ।