आर्थिक लेनदेनमा लाग्ने पशुपतिका कर्मचारीमाथि कारबाही हुन्छ : मन्त्री भट्टराई

काठमाडौँ , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले आर्थिक लेनदेनलाई प्रसय दिएकै कारण पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, जथाभावि पार्किङ गर्ने क्रियाकलाप बढेकोले त्यसो गर्नेलाई कारबाही गर्ने बताए ।उनले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेलहरु गरी नर्कजाने काम नगर्न समेत आग्रह गरे।

उनले भने ‘यहाँभित्र पशुपति क्षेत्रका पदाधिकारी र कर्मचारी साथिहरुलाई पनि भन्न चाहन्छु । कुनै आर्थिक लेनदेनमा कुनै गलत क्रियाकलापमा गलत मानिसहरुलाई प्रसय दिने काम भयो भने तपाईहरु माथि पनि म कारबाही गर्छु । मैले प्रस्ट ढंगले भनेको छु । किन भने यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो । धर्म गर्न आउने हो । त्यसैले पवित्रता कमाउने धर्म गर्न आउने ठाउँमा अनावस्यक आर्थिक लेनदेन र चलखेलहरु भएभने त्यो नर्कको बाटो हुन्छ । पशुपति भनेको स्वर्ग जाने बाटो हो ।’

उनले पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, तीर्थालुलाई हिंडन अप्ठेरो बनाउने, जथाभावी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरु नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिंडेको र उक्त कदम सरकारलाई स्वीकार्य नहुने प्रस्ट पारे ।

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय मानिसहरु र राजनीतिक व्यक्ति लगायतले विरोध गरिरहेको उल्लेख गर्दै सरकारले बिना विकल्प बासस्थानबाट बेदखल नगर्ने बताए ।

तर कुनै राजनीतिक उद्देश्यले, गलत मनसायले र गलत आर्थिक लेनदेनको कारणले सांस्कृतिक सम्पदाहरुको अुनचित ढंगले अतिक्रमण गर्न नपाउने उनले बताए ।उनले भने ‘कुनै राजनीतिक उद्देश्यले, कुनै समुदायको गलत मनसायले, कुनै गलत आर्थिक लेनदेनको कारणले अथवा अन्य कुनैपनि कारणले सांस्कृतिक सम्पदाहरुको र संस्कृतिक सम्पदासँग जोडिएका ठाउँहरुको अनुचित ढंगले त्यसमाथि ज्यादती गर्न पाइदैन । त्यसमाथि थिचोमिचो गर्न पाइदैन । त्यसमाथि अतिक्रमण गर्न पाइदैन ।’

मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्र योजना र मापदण्ड बिना बनाइएका संरचनाहरुलाई हटाउनेसमेत बताए ।