विराटनगरमा नेपाल–भारत ओहोरदोहोरो गर्नेबाट उच्च जोखिम

समुदाय स्तरमै सङ्क्रमण दर बढ्यो

विराटनगर, लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ ।

साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सीमा क्षेत्रमा कडाइ गरिएका बेलामा पनि लुकिछिपी तस्करी गर्नेबाट नेपालतर्फका सीमावर्ती बस्तीहरुमा कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको सुनसरीको हरिनगर गाउँपालिकाका लुकमान अन्सारीले बताए ।

अझै पनि सीमा क्षेत्रबाट ओहोरदोहोर रोकिएको छैन, सहज रुपमै आउने जाने क्रम चलिरहेका स्थानीयहरु बताउँछन् ।सुनसरीको बर्जु गाउँपालिकाको रामगञ्ज बेलगछिया, अमडुवा, अमाहिबेलाहा, देवानगञ्ज गाउँपालिकाको साहेवगञ्ज, कप्तानगञ्ज, देवानगञ्ज, हरिनगर गाउँपालिकाको घुस्की, बसन्तपुर, भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंह टप्पु , कोसी गाउँपालिकाको लौकही, पश्चिम कुशाहा, लाही, श्रीपुर, हरिपुर र भण्टाबारी सम्मका एक दर्जनभन्दा बढी नाकाबाट दैनिक सयौंको सङ्ख्यामा सर्वसाधारणहरु नेपाल भारत ओहोरदोहोर गरिरहेका छन् ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिकाको रानी नाका, जहदा, धनपालथान गाउँपालिका तथा रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिका विभिन्न स्थानबाट अहिले पनि नेपाल भारतको आवतजावत रोकिएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा जयकृष्ण यादव र किशोर विश्वकर्माले लेखेका छन् ।