काठमाडौंमा एकै दिन थपिए १०६ संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। यस्तै शुक्रबार अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको छ। प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो। मन्त्रालयका अनुसार कोरोनाबाट ७० जनाको मृत्यु भइसकेको छ।