बेरुत विस्फोट : नेपालीले जे भोगे

काठमाडौं, नुवाकोटका अविनाश तामाङ मंगलबार साँझ लेबनानको बेरुतस्थित दाउरामा ‘जिम’ गरिरहेका थिए । एउटा व्यायाम सकेर केही पाइला चालेका के थिए, झ्याल हुत्तिएर केही सेकेन्डअघिसम्म व्यायाम गरिरहेको ठाउँमै आएर बजारियो ।

‘यस्तो तीव्र गतिमा आएर झ्याल भुइँमा बजारिएको कि, त्यहाँबाट नउठेको भए मैले ऐया पनि भन्न पाउँदैनथें,’ ६ वर्षदेखि बेरुतमा कार्यरत तामाङले टेलिफोनमा कान्तिपुरसँग भने, ‘विस्फोटको आवाज त पछि मात्रै आयो ।’

केही सेकेन्डको फरकले उनी बाँचेको उक्त विस्फोटमा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ, ४ हजार जनाभन्दा बढी घाइते छन् । हराउनेहरूको संख्या १ सय जनाभन्दा बढी रहेको समाचार एजेन्सीहरूले बताएका छन् । सुरुमा तामाङले विस्फोट कहाँ भयो भन्ने भेउ नै पाएनन् । इजरायल र लेबनानबीच फेरि युद्ध सुरु भयो कि भन्ने आशंकामा क्षतिग्रस्त कोठाबाट तुरुन्तै बाहिर निस्किएनन् । ‘जहिल्यै पनि इजरायलले हान्छ भन्ने सुनिरहेको थिएँ । ठूलो बम पड्केको जस्तो आवाज आउनु अनि कोठा पनि क्षतिग्रस्त भएपछि पक्कै युद्ध सुरु भयोजस्तो लाग्यो,’ उनले भने, ‘एकैछिनमा कालो मुस्लो देखिन थाल्यो । ठाउँका ठाउँ साथीहरूलाई चिन्न नसक्ने स्थिति आयो । सबै साथीहरू आत्तिएर जो जहाँ छन्, जिम हलमै त्यहीँ कभर लिएर बस्यौं ।’

पछि मात्रै उनले थाहा पाए, विस्फोट करिब दुई घण्टाअघि काम गरेर फर्किएको आफ्नै कार्यालयअघिको बन्दरगाहमा रहेछ । मंगलबार स्थानीय समयअनुसार साँझ ६ः१५ मा बन्दरगाहमा ६ वर्ष अगाडिदेखि राखिएको २७ सय ५० टनबराबरको विस्फोटक पदार्थ ९एमोनियम नाइट्रेट० विस्फोट भएको थियो । विस्फोटका कारण बन्दरगाह आसपासको करिब ३ किलोमिटर क्षेत्र क्षतिग्रस्त भएको छ । बन्दरगाहनजिकै रहेका फोर सिजन होटल, फिनिसिया र स्टार कम्पनीमा ३३ जना नेपाली काम गर्थे । ‘उनीहरू कसैलाई केही भएन,’ उनले भने, ‘बुधबार बिहान अफिस पुग्दा सद्दे केही थिएन । भर्खरै शान्त भएको युद्धभूमिजस्तो देखिन्थ्यो । दिनभर क्षतविक्षत कार्यालय सफा गरेर दिन बित्यो ।’

बन्दरगाहमा विस्फोट हुँदा रुपेश गिरी फोर सिजन होटलमा काम गरिरहेका थिए । होटल र बन्दरगाहबीचको भागमा झन्डै एक किलोमिटर क्षेत्रमा पानी मात्रै छ । ‘एउटै धक्काले होटललाई क्षतिग्रस्त बनाइदियो,’ १० वर्षदेखि बेरुतमा कार्यरत उनले भने, ‘होटल पूरै थर्किएको थियो । आवाज आउनु र होटलका झ्यालढोका भत्किनु एकैसाथ भयो । त्यसपछि होटलभित्र रहेका सबै जना बाहिर निस्कियौं ।’ उनका अनुसार बन्दरगाहको वरिपरि नेपाली काम गर्ने भए पनि बन्दरगाहभित्र भने कोही नेपाली कार्यरत छैनन् । ‘बन्दरगाह र विमानस्थलभित्र नेपालीलाई काम गर्ने अनुमति नै छैन,’ उनले भने, ‘त्यही भएर त्यहाँ एक जना नेपाली परेको छैन भन्नेमा म ढुक्क छु ।’

विस्फोटस्थलबाट ३ किलोमिटरको दूरीमा रहेकी पोखराकी सरु गुरुङ, धनगढीकी सोमती तामाङ र संगीता गुरुङसहित खाजा मगाएर सडकमा बसिरहेका थिए । त्यति नै बेला एक्कासि ठूलो आवाज आयो । ‘थरर जमिन हल्लियो । बालुवा र सिसा मिसिएको हावा जोडले आयो, फिल्ममा देखेको जस्तो । झ्यालबाट फुटेको सिसाका टुक्रा ज्यानमाथि खस्न थाल्यो । हामी खुट्टा टेकेर भुइँमा उभिन सकिरहेका थिएनौं । लगलग खुट्टा काम्न थाल्यो । कोलाहल मच्चियो, मान्छेहरू सडकमा भागदौड गर्न थाले,’ गुरुङले टेलिफोनमा भनिन्, ‘सबैको ओठमुख सुकेको थियो । हामीलाई त एक पाइला पनि अगाडि बढ्न आँटै आएन । धन्य, सबै झ्यालमा लगाइएका सिसाहरू ग्यासवाला थिए । चकनाचुर भएको सिसाले शरीरमा कतै चोट लागेन ।’

उनले आफ्नो भाग्य बलियो भएर बाँचेको बताइन् । ‘बन्दरगाहको छेउमै हाम्रो जाप्निज मालिकको अपार्टमेन्ट थियो । त्यसमा म पार्ट टाइमरका रूपमा नियमित काम गर्थें । उनीहरू मंगलबार बिहान जापान गएपछि छुट्टी मिलेको थियो । विस्फोट हुने समयमै मेरो काम पर्थ्यो,’ उनले भनिन्, ‘जापानबाट मेरो मालिक्नीले फोन गरेपछि मात्रै थाहा भयो कि हाम्रो भाग्य बलियो रहेछ । उनीहरू बस्ने फ्ल्याट पूरै ध्वस्त भएछ ।’

स्टार कम्पनीमा कार्यरत डिल्ली पौडेलले विस्फोटको समयमा आफूहरू कोठामा पुगिसकेको हुँदा सुरक्षित हुन सकेको सुनाए । ‘विस्फोट हुनुअघि हामी ड्युटी सकेर कोठामा पुगिसकेका थियौं । केही भएन । स्टार कम्पनी व्यावसायिक भवनमा छ । भवनभित्रका सबै कार्यालयहरूमा क्षति पुगेको छ,’ बुधबार दिउँसो उनले भने, ‘विस्फोट भएपछि भवनमा आएर रेखदेख गरिरहेका छौं । जति डर लाग्नु राति नै लाग्यो । अहिले स्थिति सामान्य देखिएको छ ।’

गैरआवासीय नेपाली संघ, लेबनानका पूर्वअध्यक्षसमेत रहेका पौडेलले विस्फोटका परी नेपाली घाइते नभएको दाबी गरे । ‘बेरुतमा पहिलाजस्तो नेपाली छैनन् । घरेलु कामदारहरू बढीजसो गाउँमै छन् । बन्दरगाहवरिपरि हामी तीनवटा कम्पनीमा कार्यरत नेपाली मात्रै हौं । अहिले हामी सबै एकअर्काको सर्म्पकमा छौं,’ उनले भने ।

बेरुतमा ९ वर्षदेखि कार्यरत इटहरीकी कुमारी लिम्बूले आफूलाई घरको सिसाले लागे पनि कुनै चोट नलागेको बताइन् । ‘घर थरर थर्किने गरी विस्फोटको आवाज आयो । सिसा पनि फुटेर लाग्यो । चोट कतै लगेन,’ उनले भनिन्, ‘मेरो साहू–साहुनीले पनि आत्तिनु पर्दैन भनेपछि ढुक्क भयो । यहाँ रहेका दिदीबहिनीलाई सम्पर्क गर्दा पनि कसैलाई केही भएको छैन भनेर खबर दिएका छन् ।’

घटनास्थलबाट ३० किलोमिटर टाढा रहेको विगफैयानजिकै प्लास्टिक उद्योगमा कार्यरत हेम मगरले पनि उद्योगका सिसाहरू फुटेको बताए । ‘यता त्यस्तो ठूलो आवाज त आएन तर धक्का भने ठूलै आयो । हामी निकै डरायौं,’ उनले भने । गैरआवासीय नेपाली संघ, लेबनानका कोषाध्यक्षसमेत रहेका मगरका अनुसार लेबनानभर झन्डै १२ सय नेपाली कार्यरत छन् । ‘मेरो रातिको ड्युटी थियो । रातभर सुतेको छैन । जतिले फोन गरेका छन्, सबैको स्थिति राम्रो छ,’ उनले भने, ‘डराउनुपर्ने अवस्था छैन ।’ लेवनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासले यहाँ कार्यरत सबै नेपाली सुरक्षित रहेको जनाएको छ । ‘प्रारम्भिक सूचनाअनुसार नेपालीलाई कुनै असर परेको देखिन्न,’ दूतावासका प्रवक्ता सुजन विडारीले भने, ‘हामीले निकै नजिकबाट सूचनाहरू लिइरहेका छौं ।’ कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।