आजदेखि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू

मास्क नलगाउनेलाई जरिवाना

काठमाडौं, सरकारले आज (बिहीबार) देखि दुई सय बढी भएका जिल्लामा सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेको छ ।  काठमाडौं उपत्यकासहित कोरोना संक्रमितको संख्या दुई सय बढी भएका जिल्लामा सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेको हाे  ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा सुरक्षा मापदण्ड कडाइका साथ लागू गराउने उल्लेख छ । मास्क नलगाइ हिंड्नेलाई दण्ड जरिबाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ । यी जिल्लाका शहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै सरकारको निर्णय बमोजिम आवागमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या पुनः बढेपछि सरकारले जोर बिजोर प्रणाली लागू गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार लकडाउन खुलेपछि संक्रमितको संख्या बढेको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने कम्पनीहरूलाई समेत कारबाही गर्न निर्देशन दिइएको छ । होटेलमा भोज हुन थालेपछि त्यसमा पनि कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ । भारतमा सङ्क्रमण बढेकाले सीमामा पनि अवैध आवातजावत रोक्न मन्त्रालयले भनेको छ ।

यस्तै सङ्क्रमण बढेका जिल्लामा निषेधाज्ञा जारी हुन थालेको छ । १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । पर्सा, बारा, बाँके, सर्लाही, सप्तरी र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलामा संक्रमण देखिएका क्षेत्रमा मात्र निषेधाज्ञा छ ।

नुवाकोट विदुर नगरपालिकाका विभिन्न क्षेत्र, धनुषाको जनकपुर उपमहानगर र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्र, मोरङको विराटनगर महानगर, महोत्तरी सदरमुकाम जलेश्वर आसपास, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका, बझाङका थलारा गाउँपालिका–५ र केदारस्युँ गाउँपालिका–६ र ७ मा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका छन् ।