कोरोना नियन्त्रणका लागि राष्ट्रिय जनमोर्चाले सरकारलाई दियो ८ बुदे सुझाब !

दाङ, राष्ट्रिय जनमोर्चा पार्टीले देशभर लकडाउन गर्ने नीतिभन्दा अहिले आवश्यकता अनुसार स्थानीय तहले लकडाउन गर्न सक्ने नीति नै सही भएको बताएको छ । बुधबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै ४ महिना लामो लकडाउनले जनताको जनजीविका महंगो हुनुको साथै कष्टकर बनेकोले अब देशभर पूर्ण रुपमा लकडाउन गर्न उचित नहुने बताएका छन ।

‘विगत चार महिनाको लकडाउनले देशको अर्थतन्त्रमा काफी नकारात्मक प्रभाव परिरहेको छ । जनताको जनजीविका महंगो हुनुको साथै कष्टकर बनेको छ । त्यसकारण, देशभर लकडाउन गर्ने नीतिभन्दा अहिले आवश्यकता अनुसार स्थानीय तहले लकडाउन गर्न सक्ने नीति नै सही छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अध्यक्ष केसीले नेपालमा कोरोना भाइरसको संक्रमण भारतबाट आएकाहरुबाट तराईमा बढी फैलिएको भन्दै नेपाल–भारत सीमाबाट हुने अनियमित आवत जावतमा रोक लगाउनु पर्ने बताएका छन । नाकाहरुबाट आवत जावत गर्न पिसीआर टेष्ट रिपोर्ट हुनु पर्ने वा परीक्षण पछि मात्र आवत जावत गर्न पाउने व्यवस्था गर्न सरकारलाई सुझाव समेत दिएका छन् । ।

यस्तो छ कोरोना नियन्त्रणकालागि राष्ट्रिय जनमोर्चा पार्टीले दिएका सुझावहरु

१. नेपाल–भारत सीमाबाट हुने अनियमित आवत जावतमा रोक लगाउनु पर्छ । नाकाहरुबाट आवत जावत गर्न पिसीआर टेष्ट रिपोर्ट हुनु पर्ने वा परीक्षण पछि मात्र आवत जावत गर्न पाउने व्यवस्था गर्ने ।
२. स्थानीय तहको स्थिति अनुसार लकडाउन गर्न पर्ने वा नपर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिने ।
३. सामाजिक दूरी कायम गर्ने, माक्र्स लगाउने आदि सुरक्षात्मक उपायहरु अपनाउन जोड दिने ।
४. खानपान, व्यायाम आदिद्वारा स्वास्थ्य रहन जनचेतना बढाउने ।
५. पिसीआर टेष्टको दायरा बढाउने । आफू खुशी टेष्ट गर्न चाहनेलाई त्यो सुविधा बढाउने ।
६. औषधि, उपकरण, चिकित्सक सेवा सहितको आइसोलेसन र क्वारेन्टाइनको उचित व्यवस्था गर्ने ।
७. होम क्वारेन्टाइनमा पनि अनुगमन र आवस्यक सुविधा उपलब्ध गराउने ।
८. कोरोना भाइरससँग सम्बन्धित क्षेत्रमा हुने भ्रष्टाचार र अनियमिमता रोक्ने ।