नेपालमा कोरोनाबाट २४ घण्टामा पाँच जनाको मृत्यु

ज्यान गुमाउनेको संख्या ६३

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौंमा एक र पर्सा र मोरङमा दुई–दुई जनाको ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।

मोरङमा दुईको मृत्यु

मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।

पर्सामा दुईको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा आज थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । उनी मधुमेहका बिरामी हुन् । साउन १८ गते पैसा तिरेर कोरोना संक्रमण परीक्षण गराएका उनमा संक्रमण पुष्टि भएको थियो ।

२० गते स्वास्थ्यमा समस्या भएपछि राति साढे १० बजेतिर अस्पताल भर्ना भएका उनमा खोकी र ज्वरो थियो । अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार भएन र विहान मृत्यु भयो ।

यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरे ।

स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए । मृतकको घर पोखरिया–८ जगतपुर हो ।