दाङमा चार वर्षमा ३० बलात्कारका घटना

दाङ,  यहाँ चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबरजस्ती करणीका घटना बढ्दै गएका छन् । अझै कयौं घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन् । आव २०७३–०७४ मा तीन जबरजस्ती करणी तथा दुई जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । यस्तै आव २०७४–०७५ मा पाँच जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् ।

यसैगरी आव २०७५–०७६ मा पाँच जबरजस्ती करणी र दुई जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएको तथा आव २०७६–०७७ मा जबरजस्ती करणीका आठ र जबरजस्ती करणी उद्योगका छ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए । बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन् । अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन् ।

केहीले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुव्र्र्यवहारका घटना जानकारी दिंदा आफू समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ । स्थानीय तहमा न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलैर उजुरी दिन सक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन् ।