काठमाडौंमा थपिए ६२ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ५२ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो। भक्तपुरमा भने आज संक्रमित थपिएनन्।

योसँगै उपत्यकामा संक्रमितको संख्या ७८४ पुगेको छ। पछिल्लो एक हप्तामा संक्रिमतको संख्या ह्वात्तै बढेको छ। उपत्यकामा मंगलबार ६२ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार ५१, आइतबार ३१, शनिबार ६, शुक्रबार ३८, बिहीबार ४५, बुधबार १५ जना संक्रमित थपिएका थिए।

संक्रमितहरु काठमाडौंमा ५९३, ललितपुरमा ११४ र भक्तपुरमा ७७ जना छन् । काठमाडौं उपत्यकाका संक्रमितमध्ये अहिलेसम्म २४६ जना निको भएर घर फर्किएका छन्। उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ। काठमाडौंमा ४ र ललितपुरमा १ जनाको कोरोनाका कारण मृत्यु भएको हो।