ओली-दाहालसहितका नेताहरूले आज छलफल गर्ने

काठमाडौं, सत्तारूढ नेकपाभित्र देखिएको विवाद समाधान गर्न आज पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूबीच छलफल हुने भएको छ।

बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसमेतको सहभागितामा दुई अध्यक्षबीच छलफल हुने नेताहरूले बताएका छन्। १३ साउनमा ओलीले एकलौटी पार्टी स्थायी कमिटीको बैठक स्थगित गरेपछि दाहालको अध्यक्षतमा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यको मात्रै उपस्थितिमा बैठक बसेको थियो। त्यसपछि नेकपाभित्रको विवाद झनै चर्किएको छ।

६ दिन दुई अध्यक्षबीचको संवाद नै रोकिएको थियो। आइतबारदेखि छलफलले निरन्तरता पाए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन।
‘ओलीले स्थायी कमिटी बैठक नै राख्न मानिरहनुभएको छैन,’ दाहाल निकट एक नेता भन्छन्, ‘उहाँ पार्टी कमिटीका निर्णय नै नमान्ने, बैठक नगर्ने अडान राखेर बस्नुभएको छ।’

आइतबारदेखि निरन्तर भइरहेको छलफलको एउटै विषय पार्टीभित्र देखिएको विवाद स्थायी कमिटीमै छलफल गरेर जानुपर्नेमा दाहाल–नेपाल समूहले जोड दिँदै आएका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली भने स्थायी कमिटी बैठकबाट नभइ सचिवालयको बैठकबाटै समाधान खोज्नुपर्ने अडानमा छन्। त्यसै कारण पछिल्ला तीन दिनदेखिका छलफल सार्थक हुन सकिरहेका छैनन्।

मंगलबार छलफलको सुरुमै अध्यक्ष दाहाल र वरिष्ठ नेता खनालले विवादास्पद व्यक्तिलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको विषयमा कडा आपत्ति जनाएका थिए। त्यसपछि विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउने बारेमा छलफल अघि बढे पनि ओलीले सोझै अस्वीकार गरेका थिए।  असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठक असार १६ देखि नै निरन्तर रुपमा अवरुद्व हुँदै आइरहेको छ।