‘नेपाली आह्वान’

(अनुष्टुप छन्द) कविता

मित्र हो ! बोल्न सक्दैनौँ, सहिदिन्छौँ निरन्तर !
मित्रको भेषमा हुन्छ बारम्बार ठगी तर
दक्षिणी साँध सारेर बाँध बाँधी डुबाउँछ
गण्डकी रापती छेकी हामीलाई रुवाउँछ

हाकिमी रोब लाएर अह्राउँछ सिकाउँछ
साहुझैँ उसले सित्तै युगौँयुग सताउँछ
रोटीबेटी भनी आफै साइनो पनि लाउँछ
ठूलोदाजु बनी आफै ठूलो धाक जमाउँछ

फेरिन्छ देशको सत्ता फेरिन्छ रंगरोगन
नाच्दछन् ताल फेरेर ऊ बजाउँछ जे धुन
काली तरेर हामीले पाउ टेक्नु कतै छ र !
ऊ भने हुकुमै दिन्छ सिंहासन बसी तर !

नालापानी पुगी छिट्टै झण्डा गाडेर हेर्नु छ
पूर्वको साँध टिस्टामा पुगी दिवाल घेर्नु छ
नेपाली वीर जाती हो ! उठ न जाग बेर भो
सीमामा उभिई आफै भित्ता बनेर घेर भो !