चर्काचर्कीका बिच सकियो ओली-प्रचण्ड बैठक, आ-आफ्नो अडान कायमै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको  छलफल चर्काचर्कीका बिच सकिएकाे बताइएकाे छ । 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल विना निष्कर्ष सकिएको हाे  । झण्डै साढे १ घण्टा भएको वार्तामा दुई अध्यक्षद्वयले आ-आफ्नै अडान राखेपछि बैठक विना निष्कर्ष सकिएको बालुवाटार स्रोतले बताएको छ ।

तेस्रो दिनको छलफलमा बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागि थिए । बैठकमा ओलीले सचिवालय बैठकबाटै विवादको निकास खोज्ने अडान लिए भने प्रचण्डले स्थायी कमिटीलाई अलपत्र बनाउन नहुने बताए ।

दुई अध्यक्षद्वयबीचको छलफलमा लगानी बोर्डको सीईओ नियुक्तका विषयमा पनि छलफल भएको छ । विवादित व्यक्तिलाई सीईओ नियुक्त गरेकोमा प्रचण्डले आपत्ती जनाएका छन् ।

सीईओको विषयमा दुई अध्यक्षबीच केहिबेर चर्का चर्की भएको स्रोतले बताएको छ । अन्त्यमा यस विषयमा पार्टीको निर्णयअनुसार नै हुने ओलीले बताएपछि पुन बुधबार बस्ने गरी बैठक स्थगित भएको बताइएको छ ।