मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाबारे छलफल हुने

काठमाडौं, मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ ।

पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती मन्त्रीको भनाइ छ । यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।

सरकारले हाल लकडाउन खोलिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ । यसअघि लकडाउन खोल्दैमा असन्तुष्टि जनाएका केही विज्ञहरुले पुनः लकडाउन गरिनुपर्ने धारणा राख्दै आएका छन् ।

सरकारले लकडाउन खोलेसँगै भदौ १ गतेदेखि विद्यालय तथा हवाइ उडान सञ्चालनमा ल्याउने यसअघि नै घोषणा गरिसकेको छ भने अन्य सबैजसो सेवाहरु पनि खुलिसकेका छन् ।