माल्विका

लघुकथा

मास्टरजीकाे कान्छाे छाेराले समेत दुई वर्ष पहिले SLC उत्तीर्ण गरिसकेकाे थाहा हुँदाहुँदै पनि माल्विका मास्टरजीसँग पाेइल आएकी थिई ।

ऊ मास्टरजीको प्रायस् ९०% सेतो भइसकेको कपालमा कालो मेहेन्दी लगाइदिन्थी । टोपी, आस्कोट बूढो मानिसले लगाउँछ भन्ने सोच्थी ।
टीसर्ट, पाइन्ट, कालो चस्मामा मास्टरजीलाई बाहिर निस्कन भन्थी ।  मास्टरजी माल्विकासँग गरुडको अगाडि सर्पझैं लल्याकलुलुक हुन्थे ।

कहिलेकाहीँ बाहिरफेरो हिड्दा पन्यालो टीसर्ट, हाफप्यान्टमा देखिन्थी । चस्मा आँखाको लागि नभएर टाउकोको लागि थियो । मास्टरजी सकिनसकी ऊसँगै हात जेलेर हिंड्थे ।

श्रावणको महिना थियो । रोपाइँको लागि मास्टरजीले माल्विकालाई लिएर गाउँ गए ।

माल्विका घरको बरण्डामा बसेर रोपाइँ हेरिरहेकी थिई । एक हात जुरो उठेका बहर गोरूले मज्जासँग सजिलै हलो तानिरहेका थिए । हर्बाले अनौ समातेर हलो गाड्न नपाउँदै सजिलै बाँझो फोर्दै गोरु अगाडि बढेको ऊ एक टक लाएर मस्कँदै हेरिरहेकी थिई ।

माल्विका १ ए माल्विका १ मास्टरजीले भित्रबाट बोलाइरहे । माल्विकाको ध्यान बहर गोरुतिर मात्र थियो ।