जनताले पाउने सुखसुविधा फरक हुन्छ

गजल

गाउँमा गोरेटो हुन्छ सहरमा सडक हुन्छ ,
जनताले पाउने सुखसुविधा फरक हुन्छ ।

कृत्रिमताले बलेको तिम्रो रुपले बताउँछ,
दुईचार दिनमात्र अनुहारमा चमक हुन्छ ।

बाँच्न र बचाउन भने पनि नचाही नचाही,
विचरा गरिबले ढाँटेको हजारौँ पटक हुन्छ ।

चलन यस्तै छ छोरी पठाउँदा रुवाबासी,
नयाँ बुहारी ल्याउँदा घरैभरि रौनक हुन्छ ।

उसैको निम्ति हातहरु उठाइन्छ मनैबाट,
जसको संगठनमा प्रयासहरु अथक हुन्छ ।

इच्छाकामना -१ , चितवन