बालुवाटारमा खनालसहित दाहाल र ओली छलफलमा
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टी विवादका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरु भएको छ ।
वैठकमा नेकपा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बहुमत स्थायी कमिटी सदस्यहरुले बैठकको तयारी गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।
आज (मंगलबार) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले तयारी नपुगेको भन्दै एकतर्फी रुपमा स्थगित गरेपछि बहुमत सदस्यले बैठक राख्ने तयारी थालेका थिए ।
उनीहरुले समय निर्धारण भइसकेको वैठक एउटा अध्यक्षको एकल निर्णयमा रोक्न नमिल्ने भन्दै वहुमत सदस्यले वैठक अघि बढाउने बताएपछि ओलीले छलफलका लागि प्रचण्डलाई बालुवाटार बोलाएका हुन् ।
‘बैठक राख्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीले छलफलमा बोलाउनु भयो’, एक स्थायी कमिटी सदस्यले भने, ‘प्रचण्डसँगै वरिष्ठ नेता खनाल पनि जानु भएको छ ।’ स्थायी कमिटीका अन्य नेताहरु अहिले पनि बैठक कक्षमै छन् ।