कर्णालीका छ हजार छोरीको बैङ्क खाता

सुर्खेत,  कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षा दिन गत वर्ष उक्त कार्यक्रम ल्याएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार पाँच हजार ९४५ छोरीको बैङ्क खाता खोलिएको हो ।

सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले सबैभन्दा बढी दैलेखमा एक हजार ३१७ छोरीको बैङ्क खाता खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतमा ७२३, सल्यानमा ७०६, रुकुम पश्चिममा ८५२, जाजरकोटमा ५५३, डोल्पामा १६७, जुम्लामा ५४४, कालीकोटमा ७०४, मुगुमा ३०६ र हुम्लामा ७३ छोरीको बैङ्क खाता खोलिएको छ । स्थानीय सरकारमार्फत सरकारले छोरीको बैङ्क खाता खोलिदिने गरेको हो ।

गत आर्थिक वर्षमा सरकारले कर्णालीमा जन्मिने छोरीको बैङ्क खाता खोल्न तीन करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये दुई करोड ८४ लाख रुपियाँ मात्रै खर्च भएको छ ।

कोरोना रोकथाम र नियन्त्रण गर्न देशभर बन्दाबन्दी भएपछि उक्त कार्यक्रम प्रभावित बनेको थियो । गत आर्थिक वर्षमा धेरै छोरीको खाता खोल्न छुटेकाले आगामी भदौ ५ गतेसम्म खोलिसक्ने गरी कार्यविधि संशोधन गरिएको ज्ञवालीले बताउनुभयो । बन्दाबन्दीले असर गरे पनि यसलाई यसवर्ष प्रभावकारी रूपमा अघि बढाइने जनाइएको छ ।

चालू आर्थिक वर्ष सरकारले सात करोड बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त कार्यक्रम सञ्चालन गर्न कार्यविधि तयार गरेको छ । सरकारले छोरी २० वर्ष नपुुग्दासम्म पहिलो महिना एक हजार र मासिक पाँच सय रुपियाँ छोरीको बैङ्क खातामा जम्मा गरिदिने गरेको छ ।

२० वर्षमा एक छोरीको बैङ्क खातामा एक लाख २० हजार रुपियाँ जम्मा हुुन्छ । गत पुस १ गतेदेखि सरकारले उक्त कार्यक्रम सञ्चालन गरेको थियो । सरकारले बैङ्कमा जम्मा गरिदिएको रकम छोरीको उमेर २० वर्ष पुुगेपछि मात्र झिक्न पाइने, बालविवाह नगरेको हुनुपर्ने, छोरीले माध्यमिक शिक्षा पूरा गरेको हुनुपर्ने र माध्यमिक तहको अध्ययन पूरा भएको प्रमाणपत्रका आधारमा मात्र रकम उपलब्ध गराइने सर्त राखेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।