‘दोधारे चरित्र’

लघुकथा

सविन र म बच्चै देखि मिल्ने साथी। साँझपख रत्नपार्क घुम्न निस्कियौ।बाटोमा गफगाफ चल्यो। मैले भने “देशको विषम परिस्थिति, यस्तो छ,कसैले देशको विषयमा सोच्दैन।”

“कानुनले अपराधी घोषणा गरेर जेल सजाय काटेकाहरु सत्तामा आउँछन,हामी तिनै अपराधिबाट देशको मुहार फेर्ने अपेक्षा गर्छौ,” “अनि त्यहि सरकार गरिवले हातमुख जोर्न बनाएका लोकल रक्सि फालेर बहादुरि देखाउँछ,फेरि विदेशी महङ्गा रक्सिहरुको पार्टि गर्छ,कस्तो दोधारे चरित्र छ है।”

उसले मेरो कुरो विचमै काट्यो, ” मुड फ्रेस गरौ भनेर निस्केको फेरि यहि कथा बनाउन लाईस!” हामी सडक छेउ पेटिमा बस्यौ ।त्यतिनै बेला बत्ति गयो मलाई लाग्यो फेरि सरकार मैनबत्ति र सोलारको व्यापार गर्दैछ ।

मेरो दिमाग यस्तै दोधारे प्रवृत्ति र चरित्रको विषयमा घुमेको थियो,यसै विषयमा एउटा कथा लेख्छु भन्ने सोचे! त्यतिनै वेला एउटी केटि हाम्रा अगाडि अाएर भन्दै थिई “दाइ जाने हो” मैले भने को दाइ कहाँ जाने? सविनले मेरो मुखमा हेरेर हाँस्यो अनि उसको हात समातेर तान्दै भन्यो “कति हो” “हजार” उसले बोली , सविनले बोल्यो “पाँच सय” केटिले हुन्छको ईशारा गरि।सविनले मलाई एकैछिन यतै बस्ने ईसरा गरेर त्यहाँबाट दुवै जना गए।

केहि वेर पछि सविन मात्रै फर्केर अायो ” तँ जीन्दगि चिन्दैनस यार,” मैले भने तँ त झन भर्खर विहे गरेको मान्छे भाउजुलाई माया दिनुपर्दैन ? यस्तो काम गर्ने?” “भाउजुको अपिस अवेर सम्म छ उ थाकेर आउँछे,” आफुलाई भद्र बनाउँदै भन्यो “देखिस नि यी शहरिया केटिको चरित्र, तैले पनि मैले झ‌ै गाउँबाट विहे गर्नु पर्छ”।त्यसपछि हामी आ- आफ्नो कोठामा फर्कियौ।

अर्को दिन,

कोठा देखि रत्नपार्क नजिकै पर्ने र साँझ बाहिर निस्किन खुव‌ै मन पर्ने हुदा,म प्राय साँझ रत्न पार्क गै रहन्थे, तर त्यो दिन म एक्लै गए सविन गाउँ गएको थियो। मेरो कथा लेख्ने भोक बढ्दै थियोे। आज राति स्वास्थ्यको क्षेत्रमा सरकारको लगानी, चुरोट उद्योग,कर यस्तै बिषय वा गाँजाको फडानी महङ्गा औषधि खरिद बिषयमा लेख्छु सोच्दै ,पार्कमा टहलिएको थिएँ।अस्ति जस्तै पछाडि बाट एउटा नारी स्वर आयो ” दाई जाने हो” म पछाडि फर्केर हेरे ” भर्खरै विहे भएकि उहीँ सविनकी श्रीमतिको अनुहार थियोे।