लकडाउन अन्त्यसंगै खुल्न थाले यी क्षेत्र

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन अन्त्य गरेको छ । लकडाउन अन्त्यसँगै नागरिकले राहत महसुस गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पछिल्लो समय लकडाउन बहानाबाजी बन्दै गएको र यसले सर्वसाधारणको जनजीवन कष्टकर भएको महसुस गर्दै जनजीवन सामान्य बनाउन लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट देशव्यापी रूपमा जारी हुँदै आएको लकडाउनको अवस्था अन्त्य भएको जानकारी दिएका छन् ।

– जोर बिजोर प्रणाली खारेज
– १५ साउनदेखि होटल, रेस्टुरेस्ट, ट्राभल, पर्वतारोहण खुला
– ३२ साउनसम्म अन्तर्राष्ट्रिय नाका बन्द
– १ भदौदेखि लामो दुरीका यातायात र हवाई सेवा सञ्चालन
– अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक खेल खुला
– विद्यालय भर्ना तथा सञ्चालन १ भदौदेखि
– दुई सिफ्टको सरकारी सेवा अन्त्य

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. खतिवडाले लकडाउन अन्त्य गरिएको जनाए । उनले लकडाउनले मनोवैज्ञानिक त्रास दिएको र बहानाबाजी पनि भएको भन्दै अन्त्य गरिएको स्पष्ट पारे । प्रवक्ता खतिवडाले लकडाउन अन्त्य गरिए पनि जोखिम भने कायमै रहेको समेत बताएका छन् ।

स्वास्थ्य सुरक्षाको जोखिम तथा संक्रमणको जोखिम भने कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, सामाजिक दुरी कायम राख्ने र स्यानिटाइज्ड गर्ने काम जारी राख्नुपर्ने उनको भनाइ छ ।

सरकारले सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्यसमेत गरेको छ । यसअघि, सरकारले आंशिक रूपमा लकडाउन खुकुलो बनाउँदै सरकारी कार्यालयमा लागु गरिएका दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरेको छ ।

सरकारले यसअघि नै काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र बाहिरी जिल्लामा सम्बन्धित जिल्लाभित्र सीमित हुने गरी सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएकामा अब लामो दुरीको यातायात खुलाउने निर्णयसमेत गरेको छ । सरकारका प्रवक्ता खतिवडाका अनुसार १ भदौदेखि लामो दुरीको यातायात सञ्चालन गर्न पाइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल र रेस्टुरेस्ट खोल्न अनुमति दिएको छ । तर, पार्टी, समारोह गर्न भने नपाइने जनाएको छ । यस्तै, १५ साउदेखि ट्राभल, पर्वतारोहण पनि खुला गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक खेल समेत सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद् बैठकले १ भदौबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने निर्णयसमेत गरेको छ । अन्तर्राष्ट्रिय सीमा भने ३२ साउनसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन ३२ साउनको मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरेको हो ।

यसअघि अन्तर्राष्ट्रिय नाकाबाट ६ साउनको मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक साता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै ३ वैशाख, १५ वैशाख र २५ वैशाखसम्म लकडाउन गरिएको थियो ।

देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनलाई निरन्तरता दिँदै ५ जेठसम्म पुयाएको थियो भने त्यसपछि थप गर्दै २० जेठ र पछिल्लो पटक थप गर्दै ३२ जेठसम्म लकडाउन अवधि थपेको थियो । त्यसयता भने सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै आएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।