अग्निपथ

कविता

आगोमा टेकेर
आगोसँग खेली, आगोमा हुर्किएको म
आगोको संगतले आगो भएको शरीर
आगोसँग रमाएको
यो जीवन !
मित्रका नाममा
भएन कहिल्यै आगो
यो मन
छिमेकीसँग
भएन कहिल्यै तातो
लाग्यो,
खुशी साट्ने
मेरा दु:ख बाँड्ने
यिनै त हुन् !
ठानेँ,
छिमेकीले साँधको ढुंगा मात्रै त सार्यो के बिगार्यो !
दुईचार दाना फलफूल चोर्दा के नै पो सकियो !
पानी लग्यो, धर्मै लाग्यो,
नदी थुन्यो, कति पो डुबायो !
उसको खुशीमा यो मन शीतल हुन्थ्यो !!
हेपाइको पनि सीमा हुनुपर्ने
अचेल मन चिसो हुन्छ
हाम्रा अबोध बालक भोकले रुँदा
किन दोकान बन्द गर्छ छिमेकी
मोटरमा तेल नहुँदा थुन्छ भन्सार
भुइँचालोले उठिबास लगाउँदा
किन गलल्ल हाँस्यो ?
फाटेको चोलीले नछोपिएको
चेलीको छातीमा किन कामुक बन्छ ऊ!
अनि त ऐठन हुन्छ
र आगो बनेर एकै लप्कामा
भस्म गर्न मन लाग्छ उसलाई
प्रिय लाग्छ अग्निपथ
आगोमा टेकेर आगोमै हुर्किएको प्रिय जीवन
बरु आगोमै सक्न मन लाग्छ !
बरू आगोमै सकिन मन लाग्छ !!