प्रमुख जिल्ला अधिकारी कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्छु : पुर्वअध्यक्ष बस्नेत (भिडियोसहित)

बाँके, सुकुम्वासी समस्या समाधान आयोग बाँकेका तत्कालिन अध्यक्ष सन्तोष बस्नेतले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्ने बताएका छन । आफुलाई डनपारामा पुर्जा बितरण गर्यो भन्ने भनाईलाई गैरजिममेवार अभिव्यक्ति  दिएकाे भन्दै मुद्धा दर्ता गर्ने बताएका हुन ।

बस्नेतले भने, ‘प्रमुख जिल्ला अधिकारीले त्यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु भयो होला जस्तो त लाग्दैन, यदि साँच्चै त्यो हो भने वहाँले सार्वजनिक रुपमा माफी माग्नु पर्छ । नमागे म अदालतकाे ढाेका ढकढक्याउन बाध्य हुनेछु । 

जहाँसम्म हुनेखाने र पत्रकारलाई जग्गा बाँडेको भन्ने छ, पत्रकार सुकुम्वासी हुँदैन ?  अहिले मान्छेले केही व्यवसाय गरेर केही गर्यो होला, तत्कालिन समयमा त सबै सर्वहारा, गरिब त थिएन नि ।’ कोहलपुरको बिवादीत जग्गाको बिषयमा कुरा गर्दै बस्नेतले पहिला त्यहाँका नेताहरुले सरकारी जग्गामा बनाएको घर हटाउन तयार हुनुपर्ने बताए । उनले आफु शक्तिको दुरुपयोग गर्दै सरकारी जग्गामा महल ठडयाउने अरुलाई भुमाफिया देख्नु गलत भएको जिकिर गरे ।

बस्नेतले नियमसँगत तरिकाले नै आयोगमा निवेदन दिएका सुकुमवासीलाई आयोगले पुर्जा बितरण गरेको बताएका छन । मन्त्री परिषदकोे स्वीकृत कार्यदेश बमोजिम स्थानीय निकायको सिफारिसमा जग्गा सुकुम्वासीलाई बितरण गरिएको बस्नेतले दावी गरे ।

तत्कालिन स्थानीय निकाय सिफारिस समिति सदस्य भगवती अधिकारी, पुर्ण प्रसाद अधिकारी,अमीन रामकृण्ण जैसी लगायत सरकारी निकायबाट रायसहितको सुझाव आएपछि अनुमोदनका लागि आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा पठाएको र आयोगबाट समेत अनुमोदन भैसकेको उनले बताए ।

आयोगका बाँके, बर्दिया, कैलाली, कन्चनपुर, सुर्खेतका संयोजक दुर्गा बहादुर थारु कबिरले जग्गा बितरण गर्न फाईल अनुमोदन गरी निर्देशन प्राप्त भईसकेपछि सबै प्रक्रिया अगाडि बढाएको बस्नेतले बताए ।