राजिनामा

लघुकथा

बाघ बुढाको घरमा आज पनि खैलाबैला सुनियो । अब त छिमेकीहरूले पनि वास्ता गर्न छाडिसकेका थिए । झगडाको निहुँ साना मसिना नै हुन्थे । हिजो बिहान तरकारीमा बुहारीले नुन कम हालेकाले ससुरा फन्किए । दिउँसो सुकाएको बिस्कुन भँगेराले खाँदा कसैले नहेरेको भन्दै सासू कड्किइन् । लकडाउनमा फुर्सदै फुर्सद छ ! घरमा चार छोरा, चार बुहारी, दस नाति नातिनी छन् । कसैलाई कसैको मतलव छैन । वाइफाइ जोडेपछि सबै फेसबुक र युट्युबमा झुन्डिन्छन् ।

बाघ बुढा सरकारी जागिर राजीनामा दिई समाज सेवा गर्न भनी कस्सिएथे । सानोतिनो नेता पनि भए । गाउँमा झैझगडा मिलाउन अगि सर्थे ! उनको नाम सुनेर सबैमा आशा पलाउँथ्यो । पार्टी कार्यक्रममा उनी अतिथि बन्थे । एक दिन ससाना पार्टी मिसिएर ठुलै पार्टी बन्यो । सबैले आआफ्नै नेतृत्व दावी गरे । यी बा केही बोलेनन् ! सबैले उनैलाई नेतृत्व स्वीकारे । संगठन बलियो पनि भयो ! पछि को को मिलेर उनलाई चिप्लाए ! उनी पार्टीबाट राजीनामा गरी घर बसे ! पार्टी पनि कमजोर भयो ! चुनावमा नराम्ररी हार भयो ।

अहिलेको दिनहूँ घरझगडाले उनी परिवार मिलाउन नसकेर के गरौँ गरौँको स्थितिमा छन् ! अहिले उनी आफ्नो राजनीतिक जीवन सम्झन्छन् । त्यो प्रभाव सम्झँदा अल्छी छोराबुहारीसँग कराउनुभन्दा उनलाई जोगी बन्न मन लाग्छ । के अब गृहस्थ जीवनबाट पनि राजीनामा दिऊँ ! उनको मनमा प्रश्न खेल्छ ।