आफ्ना नेता पक्राउ परेपछि आक्रोसित विप्लवले दिए यस्तो निर्देशन

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न निर्देशन दिएका छन् । पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पक्राउ परेपछि बिप्लवले त्यस्तो निर्देशन दिएका हुन । नेता पुनसहित महिला संगठनकी केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची—कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेपछि विप्लव आक्रोशित बनेका हुन ।

सरकारले विभिन्न सम्पर्क स्रोतमार्फत पटकपटक भेटघाट र छलफल गर्दै फेरि गिरफ्तार गर्ने कार्य जारी राखेपछि आक्रोश व्यक्त गर्दै महासचिव विप्लवले आवश्यकता अनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन् ।

महासचिव विप्लवले विज्ञप्ति जारी गरी पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै सरकारी चालबाजीको भ्रममा नपर्न पार्टी पङ्क्तिलाई निर्देशन पनि दिएका छन् । 

महासचिव विप्लवद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक फासिवादी सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न सबै पार्टीपङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ ।’

नेकपाका नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले बुधबार कैलालीबाट गिरफ्तार गरेको थियो ।

विज्ञप्ति