अझै भएन ओली–दाहालबीच सहमति, बिहीबार पनि छलफल हुने

काठमाडौं, पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच आज (बुधबार) भएको छलफलमा पनि कुनै सहमति जुट्न सकेन ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा भएको छलफलबाट ठोस सहमति जुट्न नसकेको बुझिएको छ।

दुई अध्यक्षबीच बिहीबार फेरि पुन: छलफल हुने बताइएको छ । ओली र दाहालबीच मंगलबार पनि छलफल भएको थियो। गत साता पनि तीन दिन लगातार छलफल गरेका ओली र दाहालबीच सहमति जुट्न नसकेपछि थप छलफल गर्न भन्दै साउन २ सम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित छ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ।