भारतले नक्कली अयोध्या खडा गर्‍यो’ – प्रधानमन्त्री ओली

राम नेपाली हुन्

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन् ।

उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको बताए । ‘हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिम पट्टीको गाउँ हो ।

अहिले खडा गरिएको अयोध्या होइन’ ओलीले भने, ‘अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डित जी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरेका थिए । कुनै सञ्चार सुविधा नभएको त्यो समयमा अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको बुझाई थियो ।