कर्णालीका जनप्रतिनिधिको तलबभत्ता बढ्यो,कसको कति ?

सुर्खेत, कर्णाली प्रदेशका स्थानीय जनप्रतिनिधिको सेवासुविधा बढेको छ। प्रदेशसभाले पास गरेको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी कानुनमा संशाेधन र एकीकरण गर्न बनेको विधेयक’ अनुसार जिल्ला समन्वय समितिका प्रमुखदेखि कार्यपालिका सदस्यको तलबभत्ता बढेको हो।

तलब बढेसँगै जनप्रतिनिधिलाई चाडपर्व खर्चबापत वार्षिक १५ हजार रुपैयाँसमेत थप गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुखले मासिक ४० हजार र उपप्रमुखले ३५ हजार र समन्वय समितिका सदस्यहरुले मासिक १२ हजार पाँच सय तलब सुविधा पाउनेछन्।

त्यस्तै, सवारीसाधन प्रयोग गर्ने प्रमुखले एक सय लिटर र उपप्रमुखले मासिक रुपमा ९० लिटर डिजेल र सवारीसाधन नहुने प्रमुख-उपप्रमुखको हकमा भने यातायातबापत थप मासिक १२ हजार रुपैयाँसहित एकमुष्ट ५२ हजार रुपैयाँ तलब पाउनेछन्।

जिससका सम्पूर्ण पदाधिकारी तथा सदस्यले समान रुपले बैठक भत्ता १५ सय र भ्रमण भत्ता प्रमुखले दुई हजार, उपप्रमुखले १८ सय, सदस्यहरुले १६ सय रुपैयाँ पाउनेछन्। यसअघि जिसस प्रमुखले २७ हजार पाँच सय, उपप्रमुखले ३५ हजार र समन्वय समितिका सदस्यले १६ हजार रुपैयाँ पारिश्रमिक लिँदै आएका थिए। नगरपालिकाका प्रमुखले मासिक ३८ हजार र उपप्रमुखले ३२ हजार, वडाअध्यक्षले मासिक २२ हजार, कार्यपालिका सदस्यले ११ हजार ५०० र सभाका सदस्यहरुले ६ हजार ५०० रुपैयाँ पाउनेछन्।

सवारीसाधन प्रयोग गर्ने प्रमुखले मासिक ८० लिटर डिजेल र उपप्रमुखले मासिक ७० लिटर डिजेल र सवारीसाधन प्रयोग नगर्ने प्रमुख, उपप्रमुखका हकमा भने यातायात वाफत थप १२ हजार मासिक रुपैयाँ पाउने छन्। त्यस्तै, सवारी साधन प्रयोग गर्ने वडाअध्यक्षले भने थप २५ लिटर इन्धन सुविधा पाउनेछन् तर सवारीसाधन प्रयोग नगर्ने वडाअध्यक्षले भने इन्धन सुविधा पाउने छैनन्।

नगरपालिकाका सम्पूर्ण पदाधिकारी तथा सदस्यले समान रुपले बैठक भत्ता १५ सय र भ्रमण भत्ताको हकमा प्रमुखले दुई हजार, उपप्रमुखले १८ सय, कार्यपालिका सदस्य र सदस्यले १६ सय रुपैयाँ पाउनेछन्। यसअघि नगरप्रमुखकाे ३६ हजार, उपप्रमुखकाे ३१ हजार ५००, वडाअध्यक्षको २१ हजार, कार्यपालिका सदस्यको ११ हजार र सभा सदस्यको ६ हजार मासिक तलब तोकिएको थियो।

गाउँपालिका अध्यक्षले ७० लिटर इन्धनसहित मासिक ३३ हजार र उपाध्यक्षले ६० लिटर इन्धनसहित २८ हजार, गाउँपालिकाका वडाअध्यक्षले १५ लिटर इन्धनसहित मासिक २० हजार, कार्यपालिका सदस्यले मासिक १० हजार ५०० र सभाका सदस्यहरुले पाँच हजार ५०० रुपैयाँ सुविधा पाउनेछन्। तर, गाडी प्रयोग नगर्ने वडाअध्यक्ष, उपाध्यक्षहरुको हकमा भने मासिक १२ हजार यातायात सुविधा लिन पाउनेछन्।

त्यस्तै, गाउँपालिकाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले समान रुपले बैठक भत्ता १५ सय र भ्रमण भत्ताको हकमा अध्यक्षले एक हजार ८००, उपाध्यक्षले एक हजार ६००, कार्यपालिका सदस्य र सदस्यहरुले एक हजार ५०० रुपैयाँ पाउनेछन्। यसअघि गाउँपालिका अध्यक्षले ३२ हजार, उपाध्यक्षले २८ हजार, वडाअध्यक्षले १९ हजार ८००, कार्यपालिका सदस्यले ११ हजार र सभा सदस्यले पाँच हजार तलब खाँदै आएका थिए।

पहिले दैनिक भ्रमणभत्ताबापत दुई हजार रुपैयाँ लिँदै आएका जनप्रतिनिधिले अबदेखि १५ सय बैठक भत्तासमेत पाउने भएका छन्। यद्यपि, सरकारी कामकाजका लागि जिल्लाबाहिर गएमा मात्र दैनिक भ्रमण भत्ताबापतको सुविधा लिन पाउनेछन्। भ्रमणभत्ता लिँदा पदाधिकारीहरुले भ्रमण प्रतिवेदनसमेत पेस गर्नुपर्नेछ।

कर्णालीका मुगु, हुम्ला र डोल्पा जिल्लाको हकमा भने तोकिएको भन्दा २० प्रतिशत थप सुविधा पाइनेछ। तर, वैदेशिक भ्रमण गर्ने पदाधिकारीहरुले नेपाल सरकारको स्वीकृति अनिवार्य रुपमा लिनुपर्नेछ। सरकारको स्वीकृतिबिना वैदेशिक भ्रमण गरेमा भ्रमणबापतको दैनिक एक सय ५० अमेरिकी डलर पाउने छैनन्। तर, कुनै संस्था र सरकारको निमन्त्रणामा पदाधिकारीले विदेश भ्रमण गएमा वैदेशिक भ्रमणबापत सुविधा लिन पाउने छैनन्।

बढेको तलब

प्रमुख/अध्यक्ष उपप्रमुख/उपाध्यक्ष वडाध्यक्ष कार्यपालिका सदस्य सभा सदस्य

जिसस ४०००० ३५००० – १२५०० –

नगरपालिका ३८००० ३२००० २२००० ११५०० ६५००

गाउँपालिका ३३००० २८००० २०००० १०५०० ५५००

पहिलेको तलब

प्रमुख/अध्यक्ष उपप्रमुख/उपाध्यक्ष वडाध्यक्ष कार्यपालिका सदस्य सभा सदस्य

जिसस ३७५०० ३५००० – १२००० –

नगरपालिका ३६००० ३१५०० २१००० ११००० ६०००

गाउँपालिका ३२००० २६००० १९८०० १०००० ५०००