अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा ४ डाक्टर पक्राउ

चितवन, प्रहरीले भरतपुर मेडिकल कलेजबाट चार चिकित्सक पक्राउ गरेको छ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिकित्सकमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी रहेका छन् । यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् ।

एक वर्ष अगाडी ललितपुरका एक व्यक्तिलाई भारतीय नागरिक बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले बताएको छ । सो मुद्धामा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले शनिबार साँझ डाक्टरहरुसहित अन्यलाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं ल्याउदैँ छ। यसबारे ब्युरोले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिनेछ ।