झिनो आस तिम्रो जवाफको प्रिय !

जहाँ म एक्लै थिएँ र आफुलाई बच्चानै छु भन्ठान्थें ।अनि घरमा पनि जे माग्यो त्यहि पूरा हुन्थ्यो । म सानोतिनो काम गरेर आफ्नो जीवन गुजारिरहेकी थिएँ । चुलबुले र चकचके म, कसैले नक्कली भन्दै जिस्काउने वास्तविकता मेरो यो थिएन । कोइन्सिडेन्टल्ली एकदिन फेसबुकमार्फत तिमीसँग परिचय हुन पुग्यो । अझ भनुँ, मैलेनै खोजेकी थिएँ या मेरो शरीरमा उम्लिएको तातो रगतले या अटि नअटि भरिएको यो जवानिले । प्रिय यति कुरा थाहा छ, कि मैलेनै तिमिलाई खोजेकी र रोजेकी हुँ हजारौँको भिडमा एक, जसलाई कहिलै हराउन दिने छैन । म एक बिन्दास केटी आफ्न्नो स्वतन्त्रता उपयोगमा कसैको कुभलो र मत्लब नगर्ने मान्छे । मान्छेको जिवनमा कहाँ कतिबेला के हुन्छ पत्तो नहुँदो रहेछ । सुख-दुःख त आउँछ जान्छ । यसको कुनै ठेगान छैन, त्यसैले सुखी र खुसी छु भनेर ठोकुवा गर्न पनि त मिल्दैन ! कठै ! मेरो मन शान्त र निर्मल पोखरीको पानी झैं….तर यो भन्ने होइन फिल गर्ने कुरा हो । अहिले सोँच्दा मन रुन्छ, भित्रभित्रै पीडा मडारिन्छ । लाग्छ कसैले मुटुलाई बेस्कन निचोरिरहेको छ । सायद कसैलाई मेरो खुसी मन्जुर थिएन । मेरो जीवनमा दुर्भाग्यका काला बादलहरु मलाई थाहा नभई जम्मा हुन थालिरहेका रहेछन् ।

र अन्तत: भीषण चट्याङ र बज्रपातले छिनमै मेरो सुनौलो दिनलाई निस्पट्ट कालो रात्रीमा परिणत गरिदियो । फेसबुकको चिनजानले कुरा निकै अगाडि र गहिरियो । भेटघाटको क्रम पनि जारी रह्यो । हामी दुईबिचको त्यो पहिलो भेट म सम्झन्छु । म यहाँ वर्णन गर्दिन त्यो भेटको । तिमिलाइ याद दिलाइदिन मात्र चाहेकी हुँ । यसरी सुरुदेखि अन्त्यसम्म सोचेका थियौ भने मेरो छातिमा लात किन मार्थेउ र !? झलझली मेरा आँखामा नाचिरहन्छ प्रिय, तिम्रो मिठो मुस्कान जुन म तस्बिर मै लठ्ठीएकि थिएँ । अनि त्यो उचाई र ओजन, लम्बाई-चौडाई सबै कुराले फिट । भगवानले नि फुर्सद मै बनाएछन क्यारे । त्यसै बखत लिएको सेल्फी अझसम्म हटेको छैन स्मृतिबाट र मोबाइलको एक भित्री कुनाबाट । यो सुनेर तिमिलाई डर लागेको होला है !? प्रिय, चिन्ता नगर गोप्य मै छ त्यो सबै । तिम्रो बर्बादी होस् भन्ने कहिलै चाहन्न मेरो नियतले पनि यो कहिलै मान्दैन । म चाहान्छु तिम्रो ओठमा मुस्कान सहितको सुनौलो भविष्य, खुसी र सुखहरु छाओस् । प्रिय एकदुई पटक मात्र होइन पटकपटक सर्पबाट मुसो तानिए झैँ मेरा गोडाहरु तिम्रो शहरको गल्लीगल्लीमा तिम्रो न्यानो अङ्गालो, मिठो माया र कोमल हातको स्पर्शले नै तानिएका छन् । लाग्छ, संसारमा म जति भाग्यमानी, सुखी र खुसी मान्छे अरु कोहि हुनै सक्दैन । यति खुसी कि चकुरले चन्द्रमा पाए झैँ, चातकले दृष्टि पाए झैँ, कबिरले कोइली पाए झैँ मैले तिमिलाई पाएर आनन्दित थिएँ ।

असारको महिना बाहिर सिमसिम पानी परिरहेको अनि चिसो हावाले झ्यालबाट सरसर मैलाई नै हानिरहेको छ । रातिको झन्डै एक बज्न आँटिसक्यो माथिल्ला परेली तल्लो परेलीसँग जोडिन फिटिक्कै मान्दैनन् । प्रेम एक थोक न हो तर सब थोक लनर जाँदोरहेछ । रात कालो निस्पट्ट र शुन्य छ । कति डर लाग्दो उफ ! चारैतिरबाट भित्ताहरु मलाई नै च्याप्न खोजिरहेका छन् । छत पनि खस्ला जस्तो त्यसैमा पाँच छ हेक्टरको भुकम्पनै आएर मलाई हल्लाउँदै छ जस्तो । भविष्य आँकलन गर्न नसक्ने मस्तिष्क भुतलाई सधैं किन टाँसेर हिड्न विवश छ ? लाग्छ, दिमागको एउटा अप्रेसन गरेर पास्ट जति सबै निकालेर फ्याँक्न मिल्ने भए म अहिलेनै फ्याँकिदिन्थें । मुटुले वाण हानिरहेको छ, लाग्छ छाती तोडफोड गरि एकैछिनमा फुत्त बाहिर निस्कन्छ ।

तिमिलाई थाहा नै छ प्रिय, तिम्रो लागि हाते रुमाल किन्न समेत मलाई साथमा लिएर बजार भरी घुमाउँथेउ । अनि ती मायाका मिठामिठा गफ गर्दै पानीपुरी, चटपटे, म:महरु….. विचरा सोझी लाटि हुँ या बाठि यति धेरै विश्वास तिमिलाई गरेछु कि मेरो फेसबुक आइडि समेत तिमिलाई सुम्पिएकी थें । आफै सोँच प्रिय, हामी बाटोमा हिंड्दै गर्दा कोहि मतिर हेर्ननी नपाउने गरी, “किन हेर्यो ?” “तेस्लाई कुटम” भन्थेउ । “चिनेको हो” म हाँस्दै भनिदिन्थे । फूल फुलेको ठाउँमा भमरा घुम्नु स्वाभाविक हो प्रिय । भमराको के दोष ? फेरि म तिम्रि हुँ भन्नलाई केही प्रमाण पनि त छैन नि ! न सिन्दुर न चुरा न पोते कसरी था हुन्छ र ! तिमी झन रिसले चुर हुँदै, “तिमिलाई कसैले हेरेको मनपर्दैन बोल्न र छुनत कसैले कल्पना पनि नगरोस्” फेरि म हाँस्दै भन्थे, “तेसो हो भनेत मलाई एउटा बन्द कोठामै थुनेर राख्नुनी न कोहि बोल्न आउँछ न कोहि देख्छ र छुन्छ” मैले यो भन्दा तिमी रिसले आँखै नदेख्ने । फेरि म फकाउँदै हिड्थें । तिमिले सोचेकी भन्दा बिल्कुल फरक थिएँ प्रिय । म चाहान्थे पुरानो प्रवृतिलाई बदल्ने, अन्यायलाई न्याय दिने, दिनदुखीहरुलाई सहयोग गर्ने, समाजसेवक राष्ट्रसेवक बन्ने । हाम्रो सोँच नै फरक भैदियो तिमीले जे भनेउ सबै मान्दै गएँ । कस्तो अचम्म आफ्नो स्वतन्त्रताको कदर गर्ने जमना आइसकेको छ ।

हो, म मान्छु प्रेमको पनि ठुलो महत्त्व रहेको हुन्छ । उसका निम्ति पनि फुक्का र लेखाजोखा गर्ने मापदण्ड हुन्छ । सिमारेखा अनि विधान हुन्छ । यी सबै कुराको बाटोलाई नाघेर हिँड्न सक्दैन र रमाउँदैन पनि । प्रिय के सोचेर मेरो जिन्दगीमा यति ठुलो खेल खेलेउ ? तिम्रो छेउमा बसेर नै सबै कुरा सोध्न मन छ जान्न मन छ । के था’ मेरो पुर्वजन्मको पाप पनि हुनसक्छ या यो जन्मको कमजोरी हो थाहा छैन । कसैको अर्तिलाई आत्मसात नगरेकोले पनि होला आज मेरो यो हबिगत हुन पुग्यो । युवाकालमा बुढापाकाहरुले भनेका कुरा हामिले वास्ता गर्दैनौं व्यक्तिगत स्वतन्त्रतामाथि अनावश्यक हस्तक्षप र बन्धन ठान्छौँ । अनुभवले खारिएका उहाँहरुका भनाइप्रति हामिमा अपहेलनाको भाव रहन्छ जसले गर्दा आज धोका मिलिरहेछ । अझै कतिपय केसहरुमा हामी नउठ्न सक्ने गरि लड्न पुग्छौँ । उठ्न चाहन्छौँ तर धेरै ढिला भैसकेको हुन्छ ।

म निकै खुसी र फुरुक्क थिएँ । यो सबको देन तिमी थियौ तिमीलाई पाएर संसार भुलिरहेकी थिएँ लाग्थ्यो ।

एकोहोरिएको आकाशमा चुम्बन गर्न नहड्बडाउँदै दौडिरहेको, यौवन पाएर एकान्तमा हाँस्दै नाँच्दै बोलाइरहेको, तिखा तारुन्ने पाए दुख भुलेर सुखको बढ्ता अनुभव गरेको, नयाँ जीवन प्रदान गराउने जीवनसाथी पाएँ भन्ने यो सब मेरो भ्रम मात्रै रहेछ । तिमी धेरै राम्रो बुझ्ने र असल मान्छे कहिलेकाहीँ मेरा एकदुई कुरा मानी दिंदा लाग्थ्यो देशको प्रधानमन्त्रीनै तिमिलाईनै बनाइ दिउँ, प्रिय तिमिलाई थाहा छ, मलाई भेटेको तीनदिन मै राम्रो जागिर पाएका थियौ । यो कुरा पनि तिमिलेनै सुनाएका थियौ कि, “सानी तिमी मेरो लक्की मान्छे । तिमिलाई भेटेदेखि मेरा सबै योजना राम्रा र पूरा हुँदै गएका छन । मेरा हरेक कुरा बाबाआमालाई भन्दा पहिला तिम्लाई नै सुनाउँछु सानी” ममा मनमनै खुसिको सिमा हुँदैनथियो के थाहा यो खुसी केही समयका लागि थियो भनेर ।

हामी दुईबिचको कुरा घरसम्म पुग्न थालेछ । हाम्रो प्रेम अस्वीकार हुने रे । कारण अन्तरजातीय प्रेम । तिमिलाई त थाहा थियो होला प्रिय, तिम्रो घरपरिवार र समाजको रितिरिवाज चालचलन । के तिम्रो उद्देश्य भनेको मलाई मार्नु र तड्पाउनु थियो त ?! तिमीले मलाई तर्काउन अनेक बाहाना खोजेउ । म भने फकाउन खोजिरें । दिमाग राम्रो चलेको वेला, “घर समाजले होइन बिहे गर्ने मैले हो ढुक्क भएर बस” भन्थे । मेरो मनलाई बलियो बनाइदिन्थ्यौ प्रिय । म तिम्रो हरेक कुराको बानी परिसकेकी छु । मलाई कानुन, सँस्कार र सामाजिक रुपले तिम्री बनाउ । ग्रहदशा झनझन् लाग्दै गईरह्यो । महिनामा पन्ध्र दिन राम्रो हुन्थ्यो त बाँकी पन्ध्र दिन झगडा । के भएको होला ? जति राम्रो गर्छु भन्यो झनझन् नराम्रो प्रमाणित हुँदै गयो । यति राम्रो सम्बन्धमा कस्को आँखा लाग्यो खै ! म उसको आफन्तसँग कुरा राख्न चाहान्थें । नम्बर मागेर कुरा पनि गरें मेरो कुराको जवाफ् थियो- “परिवारले मान्नु हुँदैन तिमी कोहि राम्रो केटा पाउँछौ भने बिहे गर यो सँग बिहे गरेर किन आफ्नो जिन्दगी बिगार्छौ ?” म आफ्ना कुरानै नसकी फोन काटिदिएँ जिन्दगी त मेरो बिग्रीसकेको छ ।

योभन्दा अझै कति बिग्रने रै’छ ! उसले मप्रति गर्ने घृणा पनि यसै कारण रै’छ, ताकी मलाई भुल्न सजिलो होस् भनेर मायाले सम्झाएको भपनिए त बुझ्ने थिएँ । अन्जान त थिएन म । उसले रक्सी खाएको मन पर्न थाल्यो किनकी ऊ रक्सी खाँदा मात्र मायाले बोल्न थाल्यो र फोन गर्न थाल्यो । फोन गर्दा त ऊ जहिलै बिजि हुने गर्थ्यो । म्यासेज गर्थेँ – हजुर जस्तो महान र जिम्मेवार व्यक्ति यसरी खाएर मात्तेको सुहाउँदैन । तर प्रियको प्रतिक्रिया केही आउँथे’न ।

°°°°°°°°°°
मलाई सानो उसलाई ठुलो बनाइदियो बनाउनेले,
सानै भएपनी खुँखार बनाइदियो बनाउनेले ।

हतियार बोधो बनाई छाड्नेहरुका अगाडि ,
मलाईनै आरन बनाइदियो बनाउनेले ।

बच्चाको पनि खेल्ने मन पक्कै नभएको होइन,
तर साँघुरो आँगन बानाइदियो बनाउनेले ।

मदनलाई फकाउन के-के गरिन मैले,
उल्टै बदलेर मुना बनाइदियो बनाउनेले ।

प्रिय, तिम्रो प्रसंशामा राम्रो र रोमान्स लाग्ने अनुहार जुन म दस चोटि ऐना हेर्दा पनि अघाउँथिन, आज यो कुरुप लागिरहेको छ । लाग्छ, म कुष्ठरोगले ग्रसित छु । सर्वशक्तीमान ईश्वर, जसले मृत्यु नदिएसम्म मरिँदैन तरपनि बाँच्नु पर्छ एक मुठी श्वास अड्किरहेछ छिनछिन मरेर पनि । कोल्टे फेर्छु आज महिनौं भईसक्यो न कल न म्यासेज । हातका औंलाहरु निकै सलबलाइरहेका छन्, मलाई नसोधी फटाफट तिम्रो नम्बर डायल गरिदिए औंलाहरुले मोबाईल भन्दै थियो, “तपाईंले सम्पर्क गर्नुभएको नम्बर सुइच अफ छ”। उफ ! के भयो उसलाई ? फेरि उस्कै आफन्तबाट जान्न मन लाग्यो ।

कल गरें –

“हजुर फलानोको आफन्त हो ?”

“अँ हो”

“हजुर को हो ?”

“म उहाँकै अफिसको स्टाफ, उहाँसँग काम थियो”

“ए ए बजार गएकोछ, विहेको सामान तयारी गर्न”

मैले एकदम हतारमा नै सोधिहालें, “विहे कस्को नि ?” जवाफ थियो – “जसलाई खोज्नुभएको उसैको “

म मौन रहें ।

“हुन्छ घर आएपछी यहि नम्बरमा कल गर्न लगाउँला”, भन्दै संवाद टुंगियो ।

म चुपचाप रहें अब कल गरेनी के काम ? काटिएको घाउमा आफैंले नुनचुक छर्किनु जस्तै भयो । बिहानिको चार पनि बज्नै आँटिसकेको छ । लाग्छ बिस्तारामा पनि वर्षाको झरीले मुल फुटेछ । यस्तैमा म कोल्टे फेर्छु ।

म हारें मायाको खेलमा । आफ्नो हैसियतभन्दा माथिको हेरेपछी यस्तै हुन्छ । हिजोसम्म मुटु दुखिरहेको थियो, आज टाउको पनि । आफ्नो हो या अरुको ठम्याउनै गाह्रो, अलि कस्यो भने निचोरियर खिल नै फुत्त निस्कन्छ जस्तो । निस्ठुरी प्रिय, तिमिले त मेरो निन्द्रा, भोक, मन, मस्तिष्क, सबै लगेछौ समाल्न खोज्छु आफुलाई ।

बद्रीनाथ जान सक्दिन, जगन्नाथ जान सक्दिन, रामेश्वर, द्वारीका, स्वर्गद्वारी, मुक्तिनाथ, देबघाट कहिँ जान सक्दिन । यी यादहरु भुल्न र पवित्र बन्नलाई तिर्थव्रत गर्न सुरु गर्छु । म जन्मेको जिल्लाको आफ्नै ठाउँ कोटिलादेखि सुरु गर्छु र पादुका गएर अन्त्य गर्छु । फेरि कोटिलामै आएर डुबुल्की मार्छु र बगाइदिन्छु आफुलाई । लाग्छ, त्यस्पछी म गंगा जस्तै पवित्र हुन्छु कि !

अँह कैयौं जुनिसम्म पनि मेरो आत्मा तिम्रै सम्झनामा भड्किरहेने छ प्रिय । अब मैले लाखौं पुन्य गरेपनी मायाको बन्धनबाट मुक्त हुन सक्दिन । अब पनि मलाई माया गर्छु र जिन्दगी भरी साथ दिन्छु भन्नेहरुलाइइ के जवाफ दिउँ ? सबै कुरा भनुँ त कसरी भनुँ ? नभनुँ जिन्दगी अन्धकार । सबै तिमी जस्तै हुन्छन् या फरक पनि हुन्छन् !?

अझै पनि झिनो आस छ प्रिय !

मैले जानी नजानी कोरेको यी प्रेमिल हरफहरु सुनेपछि पक्कै पनि मलाई जवाफ दिनेछौ ।

ए प्रिय, सुनत म तिम्रै कुरा लेखिरहेछु ।
सपना होस् या विपना तिमिलाई नै खोजिरहेछु ।
कुन जुनिको पाप हो थाहा छैन ।
तिमिले नै दिएका हजारौं पिडा भोगीरहेछु ।