कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मत पारित

सुर्खेत,  कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७/७८ को विनियोजन विधेयक सर्वसम्मत पारित भएको छ । १ महिनादेखि छलफलका क्रममा रहेको कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०७७/०७८ सर्वसम्मतले बुधबार पारित भएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा उठेका विषयमाथि जवाफ दिएपछि विधेयक पारित भएको हो । सरकारले ल्याएको नीति दीर्घकालीन र बजेट जनतामुखी भएको मुख्यमन्त्री शाहीले बताए । उनले बजेटलाई उत्पादक क्षेत्रमा विनियोजन गरिनुपर्दछ भन्ने कुरामा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । ‘काम गर्नका लागि अपर्याप्त संरचना र जनशक्ति हुनाका साथै भएको जनशक्ति पनि कम अनुभवी भएकाले समस्या उस्तै रहेको छ,’ उनले भने, ‘कर्णालीको मुहार सबैले मिलेर गर्न जरुरी छ ।’

कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ । मुलुकको करिब २१ प्रतिशत भूगोल, ६ प्रतिशत जनसख्या र चालु आर्थिक वर्षमा मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान करिब ४.३ प्रतिशा योगदान रहेको आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले बताए ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले सदनमा उठेका कुरा सरकारका लागि मार्गदर्शन भएको प्रतिक्रिया दिए । बजेटमाथि झण्डै एक महिना छलफल गरिएको थियो ।