बल्ल टुंगियो राप्ती र गढवा गाउँपालिकाको सिमाना, पाँच बुँदे सहमती पत्रमा हस्ताक्षर

 भालुवाङ, लामाे समयकाे संघर्ष पछि दाङको राप्ती र गढवा गाउँपालिकाको सिमाना विवाद टुंगिएको छ । सोमबार राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी स्थित होटल पाैवामा भएको दुई पालिकाको वृहत छलफलले सिमाना विवादको टुंगो लगाएको हो ।

वर्षाै देखि साविक सिसहनियाँ गाविस वडा नम्बर ३ तथा हालको राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुर र साविक पत्रिङ्गा गाविस वडा नम्बर १ तथा हालको गढवा गाउँपालिका वडा नम्बर २ पचहिया गाउँको जनता बीच साविक गाविसको परिसर भित्रको ऐलानी जग्गाको सवालमा भइरहेको सिमाना विवादलाई प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारूको मध्यस्ततामा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी र सम्बन्धित किसानहरूको बीचमा ५ बुँदे व्यवहारिक सहमतिपत्रमा हस्ताक्षण गरे संगै दुई गाउँपालिकाकाे सिमाना विवाद टुंगो लागेको छलफलमा सहभागी राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरीले जानकारी दिए ।

सहमति अनुसार साविक सिसहनियाँ गाविसको नक्सा नम्बर ३ (क) कित्ता नम्बर ६८२ र साविक पत्रिङ्गा गाविसको नक्सा नम्बर १ (ग) कित्ता नम्बर १ को जग्गा नापी गरी आएको क्षेत्रफलको जग्गा हाल कायम राप्ती र गढवा गाउँपालिका दुवैले उक्त कित्ताहरूको जग्गा भोगचलन नगर्ने, बुँदा नम्बर १ अनुसार दुवै पालिकाले आ- आफ्नो बाउन्ड्री भित्रको जग्गामा आ-आफ्नो गाउँपालिकाको स्वामित्वमा रहने गरी दुवै गाउँपालिकाको लागि सार्वजनिक जग्गाको रूपमा रहन दिने, बुँदा नम्बर १ र २ अनुसार जग्गा नापी गर्दा सम्बन्धित स्थानीय तहहरूको अमिन र सम्बन्धित वडाका वडा अध्यक्षको रोहवरमा गर्नुपर्ने, बुँदा नम्बर १, २ र ३ को सम्झौता दुवै पक्षले इमानदारी पूर्वक लागु गर्ने गराउने र सम्झौता भंग गरे कानुन अनुसार सहुला बुझँउला रहेका छन् ।

छलफलमा मध्यस्तताकर्ताको तर्फबाट प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारू, गढवा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष सहजराज यादव, वडा नम्बर २ का अध्यक्ष भक्तु चाैधरी र पचहिया गाउँ प्रतिनिधिहरू गुरिलाल चाैधरी, हरिकुमार यादवले सम्झौतापत्रमा हस्तान्तरण गरेका छन् । यता राप्ती गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडा नम्बर ७ का वडाध्यक्ष विद्याशरण चाैधरी र भानपुर गाउँ प्रतिनिधिहरू नित्यानन्द शर्मा , ठुनीराम चाैधरीले सम्झौतापत्रमा हस्तान्तरण गरेका छन् ।