दाङ लमहीका नृत्य निर्देशक गोरन चौधरीको निधन

 दाङ, मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका दाङ लमहीका नृत्य निर्देशक गाेरन चाैधरीकाे आज मृत्यु भएकाे छ । राष्ट्रिय नाचघर काठमाण्डौमा कार्यरत दाङका चर्चित कलाकार गोरन चौधरीको मृत्यु भएको हाे ।

 

चौधरी गत शुक्रबार राति करिब दश बजे काठमाडौंको चपली भन्ने स्थान नजिकै मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । चौधरी लमही नगरपालिका वडा नम्बर ६ लङडी निवासी हुन् ।कलाकार चौधरीसंगै मोटरसाइकलमा सवार अर्का रामेछाप जिल्लाका तिलक सुनुवारको दुर्घटनामा परि मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गोरनको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको थियो । उनको उपचारकै क्रममा मंगलवार बिहान ९ बजे निधन भएको कलाकार बिपिन घिमिरेले जानकारी दिए ।

२०६१/०६२ मा स्थायी कर्मचारीका रुपमा जागिरे जिवन शुरु गरेका चौधरी नृत्य क्षेत्रमा निकै अब्बल मानिन्थ्ये । पछिल्लो समययता गोरन म्युजिक भिडियोमा अत्यन्तै ब्यस्त कलाकारका रुपले चिनिन्थे । साथै विभिन्न मेला महोत्सवमा आम दर्शकहरुले धेरै रुचाईएका कलाकार मध्ये उनी पनि एक थिए ।

बिरेन्द्र हमाल, प्रभाकर देब शर्माद्वारा निर्देशन गरेको शोक्न वात्सवदत्ता, एक चिहान लगायत थुप्रै नाटकहरुमा अभिनय गरेका छन् । खासगरी गीत संगितको क्षेत्रमा गोरनले कोरियोग्राफीको काम गर्ने गर्दथे ।

उमेरले ४५ पुगेका गोरन राष्ट्रिय नाचघर सम्म पुग्नका लागि गीत संगितको क्षेत्रमा धेरै मेहनत गरेको दाङकै अर्का गायक तथा संगितकार यादव योगीले बताए । गोरनले गीत संगितको क्षेत्रमा गरेका योगदानको जति बयान गरेपनि कम हुन्छ, गोरनको निधनले समग्र गीत संगितको क्षेत्रमा ठूलो चोट पुगेको गायक योगीले बताए ।