नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त
काठमाडौं, नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा (आईजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपीमा नियुक्त गरेको हो । थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन् । डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन् ।
आईजीपीका लागि थापासँगै अर्का एआईजी हरि पाललाई पनि दाबेदारका रुपमा हेरिएको थियो ।
को हुन् थापा ?
भक्तपुरको कटुन्जेका रैथाने थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन् । प्रहरी निरीक्षक रहँदा उनले प्रहरी एकेडेमी, आइजिपी सचिवालय, सिन्धुपाल्चोक र सल्यानमा काम गरेका थिए ।
उनले नायब उपरीक्षक (डीएसपी) मा धादिङ, महानिरीक्षक सचिवालय र प्रहरी एकेडेमीमा काम गरेका थिए । प्रहरी उपरीक्षक (एसपी) का रुपमा उनले झापा र कास्कीको नेतृत्व गरेका थिए भने विषेश ब्युरो, प्रहरी एकेडेमी र आइजिपी सचिवालयमा पनि काम गरेका थिए ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि उनी आइजिपी सचिवालय र केन्द्रीय प्रवक्ताको भूमिकामा पनि थिए । नायब महानिरीक्षक (डीआइजी) भएपछि उनले महानगरीय प्रहरी कार्यालय मेट्रोको नेतृत्व गरे भने केन्द्रीय प्रवक्ताका रुपमा आइजिपी सचिवालयमा पनि रहे ।
एआइजीमा बढुवा भएपछि उनी मानव स्रोत तथा प्रशासन विभागमा निरन्तर छन् । उनका बुवा शम्भु थापा क्षेत्री पनि नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) सम्म भएका थिए ।
थापा नेपाल प्रहरीको २८ औं आईजिपी हुनेछन् । थापा २०५८ मा डीएसपी, २०६७ मा एसपी, २०७४ मा एसएसपी र २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए । सबैमा ब्याचीमध्ये पहिलो नम्बरमा थिए ।

