नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

काठमाडौं- शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छीले  संक्रियता बढाएकी छिन् । आइतबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी उनले मंगलबार बिहान अर्का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।

खनाल निवास डल्लुमा भएको भेटमा करिब ४५ मिनेट छलफल भएको स्रोतले जनाएको छ । छलफल के विषयमा भयो भन्ने सार्वजनिक नगरिए पनि नेकपा भित्र चर्किएको विवादका विषयमा राजदुत यान्छीले चासो राखेको बुझिएको छ ।

उनले यसअघि पनि नेता नेपालसँग भेटेर नेकपाको शक्ति संघर्षका विषयमा चासो राखेकी थिइन् । सत्तारुढ दलभित्र शक्ति संघर्ष चुलिएका बेला चिनियाँ राजदूत यान्छीको सक्रियतालाई राजनीतिक बृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

चिनियाँ राजदूतको सक्रियतालाई नेपालको आन्तरिक मामिलामा चीनले अनावश्यक चासो देखाएको भन्दै आलोचना हुन थालेको छ।

यसअघि गत वैशाखमा पनि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छीको सक्रियता बढेको थियो । त्यसबेला उनले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेतासम्मलाई छुट्टाछुट्टै भेटेकी थिइन् । त्यसपछि नेकपाको विवाद केही मत्थर भएको थियो ।