काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकामा आज (मंगलबार) थप २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज कोरोना संक्रमण पुष्टि भएका २०४ जनामध्ये काठमाडौं उपत्यकाका २८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घण्टामा थप ६८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७,४९९ पुगेको छ । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिइसकेको जानकारी गराएका छन् ।

