सकियो ओली–प्रचण्डबीचको ‘वान टु वान’ वार्ता
काठमाडौं, पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीचको तीन घण्टा लामो ‘वान टु वान’वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको एक्ला–एक्लै छलफलले संवाद जारी राख्दै स्थगित स्थायी कमिटी बैठक सञ्चालन गर्ने सहमति गरेको छ ।
यसअघिका छलफल खासै उपलब्धीमुलक नभइरहेका बेला आज (मंगलबार) बसेको भएको छलफलले स्थगित स्थायी कमिटी वैठक गर्ने समझदारी जुटाएको छ । विहान ११.४० देखि १.३० सम्म भएको छलफलमा दुई अध्यक्षले बुधबारबाट पुनः शुरु हुने तालिकामा रहेको स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी गरेका छन् ।
साथै स्थायी कमिटी बैठक चल्दै गर्दा दुई अध्यक्षबीच पनि एक्ला–एक्लै छलफल निरन्तर गर्ने समझदारी भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । उनले निरन्तर छलफल गरी पार्टीभित्र देखिएको विवाद सुल्झाउन प्रयास भइरहने गरी दुई अध्यक्षबीचको कुराकानी अघि बढेको जानकारी दिए ।
सोमबार भएको दुई अध्यक्षको छलफलले दोस्रो तहका नेताहरुलाई वार्तामा सहभागि नगराई अध्यक्षद्वयले एक्ला–एक्लै छलफल गर्दै जाने समझदारी भएको थियो ।

