भक्तपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार कोरोना संक्रमण पुष्टि भएका ५४ जनामध्ये ४ जना भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी भएको खुलेको छ ।भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजालेले अस्पतालका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

तजालेका अनुसार ४ जना मध्ये ३ जना अस्पतालको प्रयोगशालामा कार्यरत ल्याव टेक्निसियन र एकजना ओपीडी सहयोगी हुन् । उनीहरुमध्ये २ जना पुरुष र २ जना महिला छन् । उनीहरु मध्ये एकजना धनकुटा स्थायी ठेगाना भएकी तर भक्तपुरमा डेरामा बस्दै आएकी महिला हुन् भने अन्य ३ जना भक्तपुर कै स्थानीय हुन् ।

अस्पतालका प्रशासन प्रमुख तजालेका अनुसार ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा बिरामीको रगत परीक्षणको क्रममा कोरोना सरेको हुनसक्ने बताए । “हाम्रो अस्पताल दुई साता अगाडि आएका व्यक्तिमा कोरोना पुष्टि भएको थियो, आज ४ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखियो,” उनले खबरहबसँग भने, “बिरामीहरु मास्कसमेत नलाइ उपचार गर्न आउँछन् त्यसैले पनि हामीलाई जोखिम बढी छ । बिरामीबाटै सरेको हो भन्ने लाग्छ ।”