राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण शुल्क मागेपछि मुख्यमन्त्री पोख्रेलको ध्यानाकर्षण

 अब दाङमै निशुल्क कोरोना परिक्षण हुने

दाङ , प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरसको परिक्षण निशुल्क रहेको भन्दै परिक्षणका लागि कुनै पनि अस्पतालले अनुमति बिना शुल्क लिन नपाउने बताएका छन् ।

कुसे न्युज डटकमले हिजाे शुक्रबार “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण बिनै स्वाव फिर्ता गर्यो, दङ्गाली नागरिकले पाए सास्ती” शिर्षककाे समाचार प्रमुखताका साथ तथा जिल्ला तथा राष्ट्रियस्तरका मिडियाहरूले समेत समाचार प्रकाशन तथा प्रसारण गरेपछि मुख्यमन्त्री पाेख्रेलकाे गम्भीर ध्यानकर्षण भएकाे थियाे । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षणका लागि शुल्क मागेकाे खबर प्रकाशन तथा प्रसारण भएपछि मुख्यमन्त्री पोखेरलले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाेख्रेलले आज सामाजिक संजाल फेसबुकमा लेख्दै उनले परिक्षणका लागि शुल्क माग्नु र नमुना फिर्ता गर्नु गलत भएको समेत बताएका छन् । उनले आफ्नाे फेसबुक स्टाटस् मा लेखेका छन्, ‘कुनै पनि प्रयोगशालाले नीति र मापदण्ड विपरित व्यक्ति वा स्थानीयतहवाट शुल्कको माग गर्नु र शुल्क नवुझाएको भनेर परिक्षणका लागि नमुना फिर्तागर्नु गलत हो ।’

मुख्यमन्त्री पाेख्रेलले सबै प्रयोगशालाका लागि लाग्ने खर्चको व्यवस्थापन प्रदेश र केन्द्र सरकारको तर्फवाट भइरहेको जानकारी दिएका छन् । ‘प्रयोगशालाको परिक्षण खर्च उपलव्ध नभएको भए प्रदेश वा केन्द्र सरकारसंग विवरण खोलेर माग गर्न सकिन्छ’, उनले आफ्नाे फेसबुक स्टाटसमा लेखेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक कारण देखाउँदै नि:शुल्क परिक्षण गर्न नसकिने बताएको छ भने परिक्षणका लागि आएका स्वाब पनि फिर्ता गरेको छ । प्रतिष्ठानले स्वाब फिर्ता गरेपछि दाङका स्थानीय तहले स्वाब परिक्षण गर्न बाहिरी जिल्ला पठाउनु परेको छ । दुई वटा मेसिन जोडिएको प्रतिष्ठानमा परिक्षणको दायरा बढ्ने आशमा बसेका जिल्लावासीले प्रतिष्ठानको यस्तो कार्यको आलोचना गरेका छन् ।