राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अझैसम्म स्वाब लिन नमानेन्

यस्तो छ जिल्लाका स्थानीय तहको गुनासो

दाङ, दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानेको दाङका स्थानीय तहहरुका जनप्रतिनिधिहरूले गुनासाे गरेका छन् । कोरोना संक्रमणको अवस्था बुझ्न गाउँपालिका पुगेको प्रदेशसभा सदस्य र जिल्ला समन्वय समितिको टोली समक्ष स्थानीय तहका प्रमुखहरुले स्वाब परिक्षणका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।

प्रदेशसभा सदस्य सरस्वती गौतम, जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपाली सम्मिलित अनुगमन टोली समक्ष राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले स्वाब परिक्षणलाई सहज बनाइदिन आग्रह गरेका थिए । ‘कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्दै गइरहेको समयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानेको जानकारी आएको छ’, अध्यक्ष सुवेदीले भने, ‘अब स्वाब कहाँ पठाउने हो जानकारी दिनुप¥यो ।

प्रतिष्ठानले यसरी एक्कासी स्वाब लिन नमानेपछि हामी समस्यामा परेका छौं सुवेदीले गुनासाे गरे ।’ साे अवसरमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले कोरोना भाइरस बिरुद्धको लडाइमा १ करोड २५ लाख रुपैया खर्च भइसकेको जानकारी दिए । बित्तीय समस्याले कोरोना बिरुद्धको आगामी लडाइमा समस्या उत्पन्न हुनेमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत रिजालले देउखुरी कोरोना विशेष अस्पतालका लागि बजेटको व्यवस्था गरिदिन प्रदेशसभा सदस्यसमक्ष आग्रह गरे । देउखुरीका ४ वटा स्थानीयतहका लागि राप्ती प्राविधिक शिक्षालयमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको भन्दै रिजालले पहिलो चरणमा ४ वटै स्थानीय तहले १०/१० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाखले खर्च व्यवस्थापन गरिरहेको जानकारी दिए ।

त्यस्तै राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले स्वाबको रिपोर्ट समयमा उपलब्ध नहुँदा समस्या भइरहेको जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानिरहेको भन्दै रावतले क्वारेन्टिनमा रहेका ४० जनाको स्वाब संकलन गर्ने नगर्ने द्विविधामा रहेको जानकारी दिए । प्रतिष्ठानले एउटा स्वाब बराबर ५ हजार ६ सय रुपैया मागिरहेको भन्दै रावतले त्यसको व्यवस्थापन गरिदिन अनुगमन टोली समक्ष अनुरोध गरे । राप्ती गाउँपालिकाले १ हजार ४ सय १० वेडको ३१ वटा क्वारेन्टिन सञ्चालनमा ल्याएको भन्दै रावतले क्वारेन्टिनमा अब १ सय २५ जना मात्र रहेको जानकारी दिए । राप्ती गाउँपालिकामा २७ जना कोरोना सङ्क्रमित रहेको रावतले जानकारी दिए ।

अनुगमन टोलीले लमही नगरपालिकाको कोरोना भाइरसको अवस्था पनि बुझेको छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले व्यवस्थापकीय पाटोलाई बलियो बनाएका कारण लमहीमा कोरोना भाइरसको जोखिम कम रहेको जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानिरहेको जानकारी आएको भन्दै प्रमुख केसीले त्यसको व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरे । साे अवसरमा लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले क्वारेन्टिनमा ३४ जना बाँकी रहेको जानकारी दिए । ६ सय ६२ वेडको १८ वटा क्वारेन्टिन सञ्चालनमा ल्याइएको भन्दै पौडेलले क्वारेन्टिनमा १ हजार २ सय ५२ जना बसेको जानकारी दिए । हालसम्म १३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको भन्दै पौडेलले ६७ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

यता प्रदेशसभा सदस्य सरस्वती गौतमले कोरोना भाइरसको महामारीको लडाइमा स्थानीय तहहरुले खेलेको भूमिका प्रसंसनीय रहेको बताइन् । ‘कोरोना भाइरसको लडाइमा स्थानीयतहले खेलेको भूमिकाको प्रसंसा जति गरे पनि कम नै हुन्छ । यो महामारीको समयमा स्थानीय तह र प्रदेश सरकार नभएको भए अवस्था कस्तो हुन्थ्यो होला’, प्रदेश सभा सदस्य गौतमले भनिन्, ‘महामारीको समयमा खट्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सबैलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु, उनले भनिन् ।’

कोरोना बिरुद्धको लडाइमा आर्थिक समस्या उत्पन्न हुन नदिनेतर्फ प्रदेश सरकारले तयारी थालिरहेको भन्दै गौतमले समस्या उत्पन्न भएमा जानकारी गराउन आग्रह गरिन् । संकटको घडीको सबैको समन्वयकारी भूमिका आवश्यक हुने भन्दै प्रदेशसभा सदस्य गौतमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब फर्काएको विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिइन् ।

‘संकटको घडीमा सबै क्षेत्र मिलेर अगाडि बढ्नुपर्नेमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब फर्काउनु राम्रो कुरा होइन’, प्रदेशसभा सदस्य गौतमले भनिन्, ‘प्रतिष्ठानले स्वाब फिर्ता पठाएको विषयलाई म प्रदेशसभा उठाउँछु, त्यहीबाट केही निकास निस्किएला उनले भनिन् ।’ त्यस्तै अनुगमनको क्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सबैको समन्वयात्मक भूमिकाबाट मात्रै कोरोना भाइरस बिरुद्धको लडाइलाई जितिने हुँदा यही दिशामा सबै लाग्नुपर्ने बताए । उक्त अवसरमा राप्ती गाउँपालिका र लमही नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।