नेविसंघका नेतालाई थर्काउँदै देउवाले भने, ‘जहाँ पनि हार्‍या हार्‍यै छ, लाज छैन’

काठमाडौं,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिंडेको भन्दै भ्रातृ संगठन नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विद्यार्थी नेतालाई सार्वजनिक रुपमै थर्काएका हुन् ।

‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ भन्दै सम्बोधन शुरु गरेका उनले महामारीका बेला भाषणबाजीको कार्यक्रम नराख्न आग्रह गरे । खतरा रोग आएको भन्दै उनले भने, ‘कहिलेकाहीं कार्यक्रम नगरे पनि हुन्छ । ठूलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिरहनु पर्ने ?’

नैनसिंह महर नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसकेपछि देउवाले रुचाएका राजीव ढुंगानालाई सभापति बनाइएको छ भने भागबन्डाका आधारमा उपसभापति, महामन्त्री चयन गरिएको छ भने केन्द्रीय समितिले पूर्णता पाएको छैन । कार्यक्रममा पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसंघलाई पार्टी नेतृत्वले भुत्ते बनाएको तथा संगठनलाई पूर्णता नदिएको बताएका थिए, तर देउवाले उल्टै थर्काएका छन् ।

नेविसंघ, तरुण दल सबैले पूर्णता पाउने बताए । केही समस्या रहेको भन्दै उनले भने, ‘विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन नि । आफैं झगडा गर्‍यागर्‍यै छन् ।’ एक समय नेविसंघको सभापति भएर आएको आफू चार पटक प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘तपाईंहरु कोही हुन सक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन ।’ उनले पहिले नेविसंघलाई बलियो बनाउन र स्कुल कलेजमा जित्न आग्रह गरे । ‘जहाँ पनि हार्‍याहार्‍यैं छन् । लाज पनि छैन,’ देउवाले नेविसंघका नेताहरुलाई भनेका छन् ।

उनले नेवि संघ स्कुलहरुमा कहाँ छ भनेर प्रश्न समेत गरे । यसअघिका सभापतिहरुलाई पनि स्कुलमा नेविसंघ बनाउनुस् भन्दा नसुनेको भन्दै उनले भने, ‘काठमाडौं आएर बढ्ता भाषण गरेर केही हुनेवाला छैन, गाउँमा जाऊ गाउँमा ।’ उनले अघि भने, ‘गाउँमा जाऊ, स्कुलमा नेविसंघ बनाएर देखाऊ । केही नगर्ने, अनि मसँग कुरा गर्ने ?’