गुल्मीमा पहिरो, दुई बेपत्ता, दुई जनाको उद्धार

गुल्मी, गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँटमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनाको उद्धार गरिएको छ । पहिरोमा परी एक महिला र एक पुरुष वेपत्ता भएको जानकारी दिंदै इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले एक महिला र एक पुरुषलाई स्थानीयले उद्धार गरेको जानकारी दिए । गए रातिदेखि परेको पानी कारण पहिरो जाँदा सो स्थानमा १५–२० घर जोखिममा रहेको विष्टले बताएका छन् ।

पहिरोले इश्मा गाउँपालिकाका अन्य वडाहरुमा पनि क्षति पुर्‍याएको छ । गाउँपालिका अध्यक्ष विष्टले दिएको जानकारी अनुसार वडा नं. ४ को रातापानी र न्वाल भन्ने स्थानमा १४ घर परिवार विस्थापित भएका छन् । यसैगरी छोरेडाँडाका पाँच घर परिवार पनि बिस्थापित भएका छन् । ढाँडको कालिका निमाविको भवन पहिरोले भत्काएको छ ।

वडा नं. १ को जुकेपानी, वडा नं. ५ को सिलार भन्ने स्थानमा पनि पहिरोले क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष विष्ट बताउँछन् । अविरल वर्षासँगै आएको पहिरोका कारण बाटाघाटा अवरुद्ध छन् । बाटो अवरुद्ध हुँदा आवत–जावत गर्न कठिनाइ भएको छ ।

उद्धारका लागि सदरमुकाम तम्घासबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई बोलाइएको अध्यक्ष विष्टले जानकारी दिएका छन् । घटनास्थल सदरमुकाम तम्घासबाट करिब तीन घण्टा पैदल दूरीमा पर्दछ ।