ओली–प्रचण्ड तीन घण्टा छलफल, निस्केन निष्कर्ष

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ ।

तर, झन्डै चार घण्टा भएको छलफल बिना निष्कर्ष टुङ्गिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ‘दुई अध्यक्षले तिक्तता विस्तारपूर्वक राख्‍ने काम भयो । तर, ठोस निष्कर्ष निस्कन सकेको छैन ।’ नेकपा निकट स्रोतले भन्यो । भोलि स्थायी कमिटी बैठक बस्नुभन्दा अगाडि पनि दुई अध्यक्षबीच छलफल हुनेगरी बैठक सकिएको बताइएको छ । स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ ।

आजको बैठकले सम्बन्धलाई हार्दिकतामा बदल्ने कोसिस गरेको पनि स्रोतले बताएको छ । छलफलमा दुई अध्यक्षका अतिरिक्त महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले पार्टी र सरकार सञ्चालनमा केपी शर्मा ओली असफल भएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका थिए । त्यसपछि नेकपाभित्र विवाद बढेको छ । स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरु छलफल जुटेका हुन् ।