कर्णालीसहित नेपालका ५४ जिल्लामा पुग्यो सलह

सरकार भन्छ खासै क्षति पुर्याउँदैन

काठमाडौं, भारतबाट नेपाल प्रवेश गरेको सलह कीरा कर्णाली प्रदेशका बिभिन्न जिल्ला हुदै चार दिनमै ५४ जिल्लामा पुगेको छ ।  उक्त किरा विभिन्न समूहमा विभाजित हुँदै जिल्लाजिल्लामा फैलिरहेको छ । बुधबार सुर्खेत, जाजरकाेटमा पनि  सलह देखिएसंगै कर्णालीमा पनि सलह पुगेकाे हाे  ।

त्यस्तै अर्घाखाँची, प्यूठान, दाङ–सल्यान हुँदै राप्तीमा फैलिरहेको छ । पहिलो पटक शनिबार निजगढी हुँदै ८० देखि ९० लाखको संख्यामा सलह नेपाल प्रवेश गरेको विज्ञहरुले बताएका छन् ।

त्यसैगरी राजधानी काठमाडौँमा पनि सलह पुगेको छ । काठमाडौँमा सानो समूह प्रवेश गरेको बताइएको छ । काठमाडौँको नागार्जुन र ललितपुरका केही स्थानमा सलह देखिएको छ । सलह गाउँगाउँ पसेसँगै किसान चिन्तित भएका छन् । थाल बजाएर धपाउन खोजिएको छ तर सबै ठाउँमा धेरै संख्या भएकोले त्यो सम्भव छैन ।

एक ठाउँबाट धपाए अर्को ठाउँमा बसिहाल्छ । धपाउँदै अगाडि जाँदा पछाडि फेरि उस्तै गरी भरिएका दृश्यहरु सामाजिक संजालमा पोष्ट भइरहेका छन् । सलह नियन्त्रण तथा भगाउनेबारे सरकारले कुनै तयारी गरेको छैन ।

सरकारले सतर्क रहन मात्रै भनिरहेको छ । सलह नियन्त्रणको एउटै विकल्प विषादी हो तर सतर्क रहन भन्दै सलहको बगाललाई हेरिरहेको छ । सलह कीरा अध्ययनको लागि सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत प्राविधिक कार्यदल गठन गरेको छ । तर, त्यसले कुनै काम गर्न सकेको छैन ।

बरु सलह नेपालमा नआउने भन्ने प्रतिवेदन दिएर पूर्वतयारी कमजोर बनाएको छ । कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताइरहेका छन् । सलहले किसानको नालीबाली सत्यानाश बनाइसक्यो तर जोशी भने क्षति नपुर्याउने भनिरहेका छन् ।

उनी सलह फुल पार्न मरुभूमि नै फर्किने दाबी गर्छन । उनले थप सलह नेपालमा आउन लागेको समेत बताए ।जोशीले सलहले क्षति नपुर्याउने बताइरहँदा हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पु¥याएको विवरण आइरहेको छ । त्यसैगरी अर्घाखाँची, प्यूठान, सल्यान, दाङलगायतका जिल्लामा मकै बालीमा क्षति पुर्याएका विवारण सार्वजनिक भइरहेका छन्