थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर विधिबाट कोरोना रीक्षण गरिएको छ।

जसमध्ये आज महिला ११७ र पुरुष ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

हालसम्म कोरोना पुष्टि भएकामध्ये १ हजार ७७४ महिला र १२ हजार २७२ जना पुरुष रहेका छन्।

हालसम्म २ हजार ६१ जना १८ वर्ष मूनिका बालबालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विश्वका अन्य देशमा बालबालिकामा संक्रमण कम देखिएको भए पनि नेपालमा बालबालिकामा संक्रमण हुने दर बढी देखिएको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा हाल ४८ हजार ३६२ जना बसिरहेका छन्।

यस्तै कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका व्यक्तिहरुको संख्या ९ हजार ३ सय ६० रहेको छ।

नेपालमा केरोनामुक्त भएर हालसम्म ४ हजार ६५६ जना डिस्चार्ज भएका छन्।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।