कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतको दाबी

केही हप्तापछि परीक्षण गरिने

एजेन्सी, पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतले दाबी गरेको छ ।  सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश भारतले कारोना भाइरसविरुद्ध खोप बनाएको दाबी गरेकाे हाे  । हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप विकास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अब खोप आउने जुलाईमा मानिसमा परीक्षण गर्ने तयारी छ । यसअघि यो खोप जनावरमा परीक्षण गरिएको र नतिजा निकै राम्रो देखिएको निर्माता कम्पनीले दाबी गरेको छ ।

अहिले कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका छन् । यी खोप विभिन्न चरणमा परीक्षण भइरहे पनि आम प्रयोगका लागि प्रमाणित भने कुनै पनि भइसकेका छैनन् । भारतमै पनि आधा दर्जन औषधि कम्पनी कोरोनाविरुद्ध खोप बनाउन जुटेका छन् ।

तर मानिसमा परीक्षण गर्ने तहसम्म आइपुगेको यो नै पहिलो खोप भएको भारतीय विज्ञले बताएका छन् । यो खोप मानिसमा परीक्षणका लागि नियामक संस्थाले अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार मानवमा खोपको परीक्षण दुई चरण गर्नुपर्ने हुन्छ । पहिलो परीक्षणले खोप सुरक्षित छ कि छैन तथा दोस्रो परीक्षणले संक्रमण रोक्न कति सक्षम छ भन्ने प्रमाणित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रवक्ताले बीबीसँग भनेका छन्, ‘भारतमा कोरोनाबाट संक्रमित व्यक्तिबाट भाइरसको नमुना यो खोप विकासमा ठूलो मद्दत ग¥यो ।’ कम्पनीका प्रमुख डा. कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ । जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।

भारत विश्वमा सबैभन्दा बढी जेनेरिक औषधि तथा खोप निर्माण गर्ने देशमध्ये एक हो । जस्तै : पोलियो, मेनिनजाइटिस, निमोनिया, रोटाभाइरस, बिसीजी, रुबेलाविरुद्धका खोप पनि भारतले विकास गरेको हो ।

सामामान्यतया कुनै खोप विकास गर्न एक दशक नलागे पनि केही वर्ष लाग्छ । तर कोरोना भाइरसविरुद्ध भने आगामी सन् २०२१ को मध्यसम्म कुन न कुनै खोप विकास हुने विशेषज्ञले दाबी गरेका छन् ।